युवायुवतीलाई प्रलोभनमा पारी दलालद्वारा १ अर्ब १० करोड ठगी

14.1k Shares

काठमाडौं । सुन्दर भविष्य बनाउने सपना बोकेका लाखौं युवायुवती नेपाल छोडेर विदेशिन चाहन्छन्। राम्रो रोजगारी, समुन्नत भविष्यका नाममा १० महिनामा विदेश जाने रहर बोकेका युवायुवतीले दलाललाई १ अर्ब १० करोड १५ लाख ३ हजार बुझाएका छन्।

विभिन्न प्रलोभन देखाएर दलालले अमेरिका, युरोपलगायतका आकर्षक गन्तव्य मुलुक पठाउने भन्दै देशभरका युवायुवतीलाई ठगी गर्ने गरेको वैदेशिक रोजगार विभाग र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा परेको उजुरीको चाङबाट थाहा हुन्छ।

वैदेशिक रोजगार विभागमा स्टोनिया, पोर्चुगल, सर्बिया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अस्ट्रेलिया, जापान, अमेरिका, क्रोसिया, कम्बोडिया, टर्की, अल्बानिया, रसिया, अजरबैजानलगायतका देश पठाइदिने भन्दै दलालले गएको साउनदेखि जेठसम्ममा ६२ करोड ५८ लाख ४ हजार ७ सय ६४ रुपियाँ ठगी गरेको उजुरी परेको थियो।

विभागले विगत १० महिनामा ३ सय ३९ जनालाई ठगीको आरोपमा पक्राउ गरेको छ भने विभागमा मात्रै ठगीका ८ सय २३ उजुरी परेको छ । महिनागत रूपमा हेर्ने हो भने विभागमा साउनमा ८९, भदौमा ४६, असोजमा २२, कार्तिकमा २६, मंसिरमा ६०, पुसमा ९४, माघमा ८४, फागुनमा १२७, चैतमा १२६, वैशाखमा १०६ र जेठमा ४३ वटा ठगीमा मुद्दा परेका थिए।

त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा ४७ करोड ७३ लाख ४८ हजार ३ सय ६० रुपियाँ ठगी गरेको उजुरी परेको छ । महाशाखामा मलेसिया, कतार, दुबई, साउदी अरब, कुवेतलगायतका मुलुक पठाउने भन्दै ठगी गरेको उजुरी आउने गरेको महाशाखाका डीएसपी गोविन्द पन्थीले जानकारी दिनुभएको छ।

उहाँले अहिलेसम्म विभाग र महाशाखामा परेका उजुरीको आधारमा २ हजार ६ सयभन्दा बढी व्यक्ति पीडित भएको जानकारी दिनुभयो । प्रहरीले अहिलेसम्म ६ करोड १५ लाख ४७ हजार ८ सय ५० रुपियाँ बिगो असुल गर्न सफल भएको छ भने यस्ता अपराधमा संलग्न रहेका ४ सय ३७ जनामाथि अनुसन्धान अघि बढाएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार