काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय मानिन्छ । यही कारण यसपटक पनि दसैँको अवसर पारेर ठूला स्टार र लोकप्रिय फिल्मका सिक्वेल दर्शकमाझ आउँदैछन् ।
भावनात्मक कथादेखि एक्सन र कमेडीसम्मका चलचित्रबीच हुने यो भिडन्तले दसैँको फिल्म बजारलाई थप रोचक बनाउने देखिएको छ ।
दसैँको सुरुवातमै पल शाह अभिनित ‘आमा २’ प्रदर्शनमा आउँदैछ । घटस्थापनाबाट रिलिज हुने यो फिल्म गत वर्षको चर्चित ‘आमा’को सिक्वेल हो ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशन रहेको फिल्ममा आमा–छोराको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ । पलसँगै मल्लिका महत, विपना थापा, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
तर ‘आमा २’सँगै दर्शकले एक्सनको स्वाद पनि लिन पाउनेछन् । बिराज भट्टको निर्माण तथा निर्देशनमा बनेको ‘१२ गाउँ २’ पनि घटस्थापनाकै दिनदेखि प्रदर्शनमा आउनेछ ।
अघिल्लो ‘१२ गाउँ’को निरन्तरताका रूपमा आएको फिल्ममा समीर भट्ट मुख्य भूमिकामा छन् । फिल्मले समीरको एक्सनलाई विशेष प्राथमिकता दिएको छ। कृशु शाही र वर्षा इटनीले यही फिल्मबाट डेब्यु गर्दैछन् ।
घटस्थापनाको भोलिपल्ट ‘छ माया छप्पक्कै २’ प्रदर्शनमा आउनेछ। दीपकराज गिरी र दीपाश्री निरौलाको निर्माणमा बनेको फिल्ममा दीपकराजसँगै केकी अधिकारी, सनिशा भट्टराई र निर्मल शर्मालगायत कलाकार छन्।
यता, दसैँको अर्को ठूलो आकर्षण ‘कबड्डी ५ आफ्टर द फाइनल म्याच’ हो। रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ । दयाहाङ राईसँगै विजय बराल, बुद्धि तामाङ, मिरुना मगर र विपिन कार्की मुख्य भूमिकामा छन् ।
यसरी यसपटकको दसैँमा आँसु, एक्सन, प्रेम र कमेडीबीचको भिडन्त पर्दामा देखिनेछ । यी चारमध्ये दर्शकको मन र बक्स अफिस दुवैमा कसले बाजी मार्छ, त्यसका लागि भने दसैँ कुर्नुपर्नेछ ।