सांसद बुद्धरत्न महर्जनको राजनीति हठका कारण दक्षिण ललितपुरका स्थानीयले भोग्दै छन् सास्ती, कहिले खोल्छ कान्तिलोकपथ ?

3k Shares

ललितपुर । ललितपुर क्षेत्र नं. १ का संघीय सांसद बुद्धरत्न महर्जनको राजनीतिक हठका कारण दक्षिण ललितपुरका स्थानीयवासीले गत असोज ६ गतेदेखि सास्ती भोग्दै आइरहेका छन् ।
कान्तिलोकपथ सडकअन्तर्गत लेले–टीकाभैरव खण्डमा गत असोज ६ गते गएको पहिरो नहटाएका कारण लामो समयदेखि सर्वसाधारणले सास्ती भोग्दै आइरहेका पीडित स्थानीयले खोजतलासलाई जानकारी गराएका छन् । 
पहिरो गएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा दक्षिण ललितपुरको गोदावरी नगरपालिकासहित तिनवटै गाउँपालिकाका स्थानीयवासी प्रभावित बनेका छन् । पहिरोमा सांसद महर्जनले राजनीति गरेकै कारण बिरामी बोकेका एम्बुलेन्स, कृषि उपज ढुवानी गर्ने सवारीसाधन तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणले ठूलो समस्या भोग्नुपरेको छ। नेपालीहरुको महान चाड दशै नजिकिँदै गर्दा चाडपर्वको मुखमा सो क्षेत्रका नागरिकले सहज रूपमा यात्रा गर्न नपाउनु दुःखद विषय बनेको स्थानीयको गुनासो रहेको छ ।
स्मरणीय छ, दुई वर्ष अगाडि दुई दिनको अविरल वर्षाका कारण टाहाखेलदेखि टिकाभैरवसम्म गएको पहिरोले ठूलो क्षति पु¥याएको थियो । त्यतिबेला स्थानीय सरकार अर्थात् गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलगायत वडाध्यक्षहरुले रातदिन नभनी खटेर तिन दिनमै पहिरो हटाई स्थानीयलाई सहजरुपमा आवतजावत गर्ने वातावरण बनाइदिएका थिए । तर, गत असोज ६ गते गएको सामान्य पहिरो झण्डै दुई हप्ताभन्दा बढी हुँदा पनि नहटाउनुले त्यसमा राजनीतिक गन्ध भएको प्रष्ट रुपमा बुझ्न सकिन्छ । तराई छुने सबैभन्दा छोटो दुरीको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत टिकाभैरव लेले सडकमा गएको पहिरो हटाउने कार्य किन ढिला भएको भन्ने जिज्ञासा सांसद बुद्धरत्न महर्जनलाई राख्दा उनी भन्छन्, ‘पहल भइरहेको छ काम गर्ने भन्ने सम्बन्धित निकायले ढिला गरेको भन्ने जवाफ दिए ।’ सांसद महर्जनले आफू पानी माथिको ओभानो बन्दै भौतिक पूर्वाधार हेर्ने गोदावरी नगरपालिकाका राजिव देसारलाई सबै जिम्मा लगाएको भन्दै गलत जवाफ दिएका छन् । सांसद बुद्धरत्न महर्जनले सबै जिम्मा गोदावरी नगरपालिकाका राजिव देसारलाई दिएको भने पनि खोजतलासले राजिव देसारसँग सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी नभएको बताएका छन् ।

pahiro.jpg
स्थानीय तहअन्तर्गत गोदावरी नगरपालिका र सो क्षेत्रका वडाध्यक्षहरुको समन्वयमा तत्कालि पहिरो हटाउनका लागि स्थानीयस्तरमा उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरेर पहिरो हटाई सडक खुलाउने प्रयास भइरहँदा पहिरो गएको स्थानमामा उपस्थित भएका सांसद महर्जनले अवरोध सिर्जना गरी पहिरो हटाउने काम रोकेको स्थानीय राजमाया थापाले जानकारी गराइन् । 
सांसद महर्जनले पहिरो हटाउने विषयमा विवाद उत्पन्न गरेपछि दुई हप्ता नाघिसक्दा पनि अझै पहिरो हटाएर स्थानीयवासीलाई आवतजावत सहज बनाउने तरखरमा कोही पनि नलागेको गुनासो राजमाथा थापा बताउँछिन् । सांसद महर्जनले राजनीतिक असमझदारी, गलत बुझाइ वा व्यक्तिगत अडानका कारण जनताको आधारभूत आवश्यकतासँग जोडिएको सडक खुलाउने काम प्रभावित बन्नु हुँदैनथ्यो । 
अर्कोतर्फ, सडक खुलाउने नाममा हतारमा माटो र ढुङ्गा पन्छाउँदा सडक पूर्ण रूपमा सुरक्षित नहुने तथा थप पहिरो वा दुर्घटनाको जोखिम रहन सक्ने चिन्ता स्थानीयवासीको छ । त्यसैले सडक खुलाउने काम केवल आवागमन सञ्चालन गर्ने उद्देश्यमा सीमित नभई प्राविधिक मूल्याङ्कन, सुरक्षित रूपमा पहिरो व्यवस्थापन र सम्भावित जोखिम न्यूनीकरणलाई समेत प्राथमिकता दिएर गरिनुपर्छ।
पहिरोका कारण मुख्य सडक अवरुद्ध हुँदा प्रयोग गरिँदै आएको वैकल्पिक मार्गसमेत वर्षाका कारण बिग्रिएको र जोखिमपूर्ण बनेको छ। यस्तो अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउन, कृषि उपज बजारसम्म लैजान र सर्वसाधारणलाई दैनिक कामकाजका लागि आवतजावत गर्न कठिन बनिरहेको छ ।
स्मरण रहोस्, २०८१ साल असोज ११ र १२ गतेको ठूलो विपत्तिका क्रममा विभिन्न सडकखण्ड अवरुद्ध हुँदा समेत स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय र सम्बन्धित पक्षको समन्वयमा सडक तथा वैकल्पिक मार्गहरू सञ्चालनमा ल्याउन प्रयास गरिएको थियो। त्यतिबेलाको अनुभवबाट सिक्दै अहिलेको समस्यालाई पनि समन्वय, सहकार्य र व्यावहारिक निर्णयमार्फत् समाधान गर्न सकिन्छ।
जनताको सडक कुनै व्यक्ति वा राजनीतिक समूहको प्रतिष्ठाको विषय होइन। यो जनताको जीवन, स्वास्थ्य, जीविकोपार्जन र दैनिक आवश्यकतासँग जोडिएको सार्वजनिक सम्पत्ति हो ।
त्यसैले सम्बन्धित निकाय, जनप्रतिनिधि तथा सरोकारवाला सबै पक्षलाई आग्रह गर्दछु—आपसी विवाद र असमझदारीलाई तत्काल समाधान गरी प्राविधिक रूपमा सुरक्षित ढङ्गले पहिरो हटाउने र सडक सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकता दिनुपर्नेमा स्थानीय असोक लामा बताउँछन् ।
जनताको दुःखलाई राजनीतिक विवादको विषय नबनाऔँ । जनताको समस्या समाधान गर्न प्रतिस्पर्धा गरौँ, समस्या बढाउन होइन। जनताको सुरक्षा, सहज आवागमन र सार्वजनिक हित नै हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।

सम्बन्धित समाचार