नेपालका २५ वटा म्यानपावर कम्पनीले मात्र मलेसियामा श्रमिक पठाउन पाउने

848 Shares

काठमाण्डौ — नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य देश मलेसियाले नेपालसहित १० देशका श्रमिक ल्याउने गरी म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ ।

यो निर्णयपछि ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक पठाउन पाउने भएका छन् ।

मलेसियाको मानव संसाधन मन्त्रालय (केसुमा) ले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ । रोजगारदाताले एफडब्लूसीएमएस सूचीकृत भएकाबाहेक अन्य म्यानपावर कम्पनीमार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयले जनाएको छ । जसमा नेपालका २५ वटा कम्पनी सूचीकृत भएका छन् ।

मलेसियाले सूचीकृत गरेका म्यानपावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँगको भेटमा श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको हिजो बसेको आकस्मिक बैठकले मलेसियाले सूचीकृत गरेका २५ वटा संस्थालाई निलम्बन गर्ने निर्णयसमेत गरेको छ ।

नेपालको प्रचलित ऐन, नियम र कानुनबमोजिम वैधानिक रूपमा व्यवसाय गरिरहेका व्यवसायीको प्रतिस्पर्धा गर्ने अधिकारलाई कुण्ठित गरेको सङ्घको ठहर छ ।

सम्बन्धित समाचार