बबई (बर्दिया), साउन २ गते । पश्चिम नेपालको बर्दिया जिल्लामा असार महिना सकिँदासम्ममा ९२ दशमलव ८७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । बर्दियामा धान खेती हुने ५० हजार दुई सय हेक्टर जमिन मध्य असार मसान्तसम्ममा ४६ हजार ५७८ हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको हो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाले दिएको जानकारी अनुसार बर्दिया जिल्लाको आठ स्थानीय तहमध्य सबैभन्दा बढी गेरुवा गाउँपालिकामा ९९ प्रतिशत र सबैभन्दा कम बारबर्दिया नगरपालिकामा ८२ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यसैगरी ठाकुर बाबा नगरपालिकामा ९८ प्रतिशत, मधु वन नगरपालिकामा ९५ प्रतिशत, गुलरिया नगरपालिकामा ९५ प्रतिशत बढौयाताल गाउँपालिकामा ८६ प्रतिशत र राजापुर नगरपालिकामा ९८ प्रतिशत धान रोपाइँ भएको हो ।
विगतका वर्षहरू भन्दा यस वर्ष धान रोपाइँ छिटो भएको छ । यस वर्ष सुरुमा मनसुन छिटो भित्रिएको भए पनि असारको मध्य तिर कम बर्सात हुँदा कृषकहरू समस्यामा परेको भए पनि कृषकहरूले मोटर र डिप बोरिङ लगायतको प्रयोग गरेर समयमानै धान रोपाई सिद्धाएका छन् । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले बाँकी रहेको करिब ८ प्रतिशत जमिनमा पनि अहिले कृषकहरूले धान लगाई रहेको जनाएको छ ।
सबैभन्दा कर्णालीको पानी सिञ्चित हुने गेरुवा गाउँपालिकामा सबैभन्दा पहिलानै धान रोपाइँ सकिएको हो भने सिञ्चित क्षेत्र नभएका स्थानहरूमा मात्र धान रोपाइँ भइरहेको देखिन्छ । सुरुमा परेको आकाशे पानी पछि नपर्दा केही स्थानमा धान रोपाइँ गर्न नसकिएको बारबर्दिया नगरपालिका– १० जब्दी गाउँका राजेन्द्र सिंहले बताउनुभयो ।
विगतका वर्षहरुमा भन्दा यस वर्ष मनसुन पनि छिटो भित्रिएका कारण यस वर्ष ९२ प्रतिशतभन्दा बढी खेतबारीमा धान लगाउने काम सकिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । बर्दिया जिल्लामा उत्पादन हुने धान देशका ठुला शहरहरु बाके, रुपन्देही, कपिलवस्तु, चितवनका साथै पहाडी जिल्लाहरुमा समेत पुग्ने गर्दछ ।