काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरिएको विषयलाई लिएर सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई धन्यवाद दिएका छन् ।
केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ वितरण गरेर स्थानीय उत्पादनको प्रचारमा सहयोग पुर्याएको भन्दै शाहीले लामिछानेप्रति आभार व्यक्त गरेका हुन् ।
शाहीले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले जुम्लाका किसानले उत्पादनको उचित मूल्य नपाइरहेको विषयमा ध्यान दिन आग्रह गरे । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै जुम्लाको स्याउ बजारमा उपलब्ध हुने अवधिसम्म विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग अपिल गरे ।
उनले भने, ‘जुम्लाको स्याउ बाँडेर यसको प्रचार गरिदिनुभएकोमा धन्यवाद । अब जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस् । यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन् ।’
शाहीले जुम्लाका किसानको उत्पादनले उचित बजार र मूल्य पाउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँदै स्वदेशी स्याउलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।