विश्व। इन्धनको बढ्दो मूल्यका कारण आपूर्तिमा उत्पन्न दबाव कम गर्न जी–सेभेन देशहरू १० करोड ब्यारेल कच्चा तेल तथा डिजल निकासा गर्न सहमत भएका छन् । यो पछिल्लो कदमले आउँदा दिनमा डिजलको पर्याप्त आपूर्ति सुनिश्चित गर्ने अमेरिकासहित ठूलो अर्थतन्त्र भएका राष्ट्रहरूको समूहले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिनुभएको थियो । यो कदमले आउँदो नोभेम्बरमा हुने मध्यावधि चुनावअघि अमेरिकी उपभोक्तामाथि परेको मूल्यको दबाव कम गर्न सक्ने भए पनि अन्य देशमा भने डिजलको मूल्य बढाउने थियो ।
जी–सेभेन देशहरूले अब एकअर्कामाथि ऊर्जा र ऊर्जा उत्पादनहरूको निर्यातमा प्रतिबन्ध नलगाउने सहमति गरेको पनि संयुक्त वक्तव्यमा जनाएका छन् ।
जी–सेभेन देशहरूमा अमेरिका, बेलायत, क्यानडा, जापान, जर्मनी, इटाली र फ्रान्स आबद्ध छन् । अनि यी देशको बैठकमा युरोपेली सङ्घ (ईयू) को पनि प्रतिनिधित्व हुने गर्छ ।
युरोपेली देशहरूले आफ्नो भण्डारणबाट इन्धन बजारमा नपठाए अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउने धम्की ट्रम्पले दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालमा युरोपले आफ्नो विशाल भण्डारणबाट डिजल निकासा गर्न सहमति जनाएको र यो प्रक्रिया तत्कालै प्रारम्भ हुने लेख्नुभएको छ ।