काठमाडौँ । ‘अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ का पदाधिकारीलाई आज औपचारिक पत्र दिइने भएको छ ।
असार ९ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यसचिव शंकरदाश बैरागीको नेतृत्वमा ७ सदस्यीय समिति बनाएको थियो । समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य छन् ।
सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन् । उनीहरूलाई आज औपचारिक पत्र प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ । पत्र पाएपछि आजैबाट समितिले काम गर्ने समितिका सदस्यहरू बताउँछन् ।