काठमाडौँ - सहकारीको बचत रकम अपचलन प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रश्न गरेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पक्राउ गरेर पोखरा पठाउने क्रममा पूर्वडिआइजी जोशीले ‘सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल रूपमा चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ?’ भनेर प्रश्न गरेका थिए। जबाफमा प्रहरीले चाँडै पक्राउ गर्ने बताएका थिए ।
‘उहाँले चेक काट्न म होइन, रकम कसरी आयो भन्ने जानकारी मैले राखेको छैन तर चेक काटेर करोडौं रूपैयाँ उडाउनेले चाहिँ उन्मुक्ति पाउनुभएन नि,’ जोशीको भनाइ उद्धृत गर्दै पक्राउ गर्न गएका एक प्रहरी अधिकारीले भने। साथै उनले रविलाई पक्राउ गरेर मात्र आपूmलाई पक्राउ गर्नुपर्ने बताएका थिए। ‘कानुनी भाषा र अनुसन्धानको पक्षबारे म पनि जानकार छु, रविजीलाई पक्राउ गरेपछि मलाई पक्राउ गर्नुपर्ने हो, मलाई फसाउने रविलाई छाड्ने योजना हो या राजनीतिक सौदाबाजी ? यसो भयो भने राम्रो हुँदैन,’ एक उच्च प्रहरी अधिकारीलाई फोन गरेर भनेका थिए।
उनलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको अनुमति लिएको छ। काठमाडौं महानगरपालिका–१ नक्साल घर भएका पूर्वडिआइजी जोशीले आफू भाग्न नखोजेको बताएका छन्। ‘म भाग्ने भए उहिल्यै भागिसक्थें,’ उनले कास्की प्रहरीलाई भनेका थिए। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा छविलाल जोशीलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो।
समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।
कास्की प्रहरीले अनुसन्धानका लागि समय लिन जिल्ला सरकारी वकिलको कार्यालयमा लैजाँदा बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए। ‘म भाग्ने भए पहिला नै गइसक्थें, मलाई जरुरी पक्राउ पुर्जी जारी गरेर ल्याइयो, त्यो जरुरी थिएन। कहीँ जान्नथें, जानु पनि छैन, म बाहिरै रहेर पनि अनुसन्धानलाई असर पर्दैन। मेरो पासपोर्ट अदालतले राखे हुन्छ, तारेखमा रहेर मुद्दा लड्न पाऊँ, सहकारीमा विवाद आउनुअघि नै म सञ्चालकबाट बाहिरिएको थिएँ,’ जोशीले सरकारी वकिल कार्यालयमा भनेका थिए।
विशेष समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए। सरकारले पनि तुरुन्तै निर्णय गरेर सम्बन्धित मन्त्रालयलाई कारबाही अघि बढाउन निर्देशन दिएको थियो। समितिले दिएको प्रतिवेदनअनुसार उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लगी ठगी गरेका थिए।
सहकारीबाट मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रूपैयाँ ऋण प्रवाह भएको समितिका सभापति सूर्य थापाले सार्वजनिक रूपमा बताएका मात्र छैनन्, प्रतिवेदनमा समेत सोही कुरा उल्लेख छ। साथै सो प्रतिवेदनमा रास्वपाका सांसद शिशिर ढकालले समेत हस्ताक्षर गरेका छन्। सञ्चालकको हैसियतले छविलाल जोशी र रवि लामिछानेको पनि रकम अपचलनमा संलग्नता पुष्टि भएको समितिको ठहर थियो। तर जोशी र लामिछानेले समितिको बैठकमा सहकारीमा आएको रकमबारे आफूहरूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका थिए।
सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राईलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। गोर्खा मिडिया दर्ता गर्दा २०७७ भदौ १० गते जिबी राई र छविलाल जोशीले ५०/५० प्रतिशत सेयर लगानी गरेको समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसबेला सुरुमा पुँजी पाँच करोड राखिएको थियो।
पुँजी बढाएर १२ करोड पुर्याउने प्रक्रियामा छविले आफ्नो सेयरबाट १५ प्रतिशत रवि लामिछानेलाई दिएका थिए। त्यसपछि जिबीको ५०, छविलालको ३५ र रविको १५ प्रतिशत सेयर कायम भएको समितिको प्रतिवेदनमा उल्लेख छ। रविले सेयर लिन पनि सहकारीकै रकम प्रयोग गरेका थिए। छविलालले आफू प्रहरी परिसरमा कार्यरत रहँदा जिबीसँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग भेट भएको समितिलाई जवाफ दिएका छन्। आजको नागरिक दैनिकबाट