मेसीको बार्सिलोना पुनरागमन कति सम्भव ?

17.5k Shares

एजेन्सी । स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा आफ्नो स्वर्णीम समय बिताएका लियोनल मेसीले यसै सिजनको सुरुमा क्याटलान क्लब छाडे । बार्सिलोना त्यही क्लब हो जहाँ मेसीले १३ वर्षको उमेरबाट आफ्नो करियर सुरु गरेका थिए । 

स्थानीय सञ्चारमाध्यमका अनुसार क्याम्प नोउमा अहिले फेरि मेसी पुनरागमनको चर्चा सुरु भएको छ । वित्तीय समस्याका कारण क्लबले सम्झौता नवीकरण गर्न नसकेपछि मेसीले बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । पीएसजीसँग मेसीले दुई वर्षका लागि सम्झैता गरेका छन् । त्यसकारण तत्काल मेसी बार्सिलोना फर्किने सम्भावना न्युन छ । 

तर बार्सिलोनामा मेसी २०२३ मा पीएसजीसँगको सम्झौता समाप्त भएपछि पुनः क्याटलान फर्किने चर्चा चलिरहेको छ । २०२१ को अध्यक्ष पदका प्रत्यासी भिक्टोर फन्टले मेसीलाई फर्किन आग्रह गरिरहेका छन् । उनले भनेका छन्, ‘‘उनको प्रस्थान ढोका अगाडिबाट हुनुपर्थ्यो । अब तत्काल उनलाई २०२३ मा कसरी फर्काउन सकिन्छ भन्नेबारे सोच्नुपर्छ ।’’

मेसीको बिदाई उनी स्वयम् र क्लब दुबैका लागि दुखद क्षण थियो । मेसीले आफ्नोले तलबको ५० प्रतिशत रकम कटौती गर्दा पनि क्लबले उनको सम्झौता नवीकरण गर्ने परिस्थिति बनेन ।

मेसी आफैँले बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् । ३४ वर्षे मेसीले खेलाडीको रुपमा नभए पनि क्लबको कुनै पदाधिकारीको रुपमा भए पनि बार्सिलोना फर्किने चाहना व्यक्त गरेका छन् । 

‘‘मैले सधैँ भन्दै आएको छु कि म क्लबलाई मद्दत गर्न चाहन्छु र क्लबका लािग उपयोगी हुन चाहन्छु,’’ मेसीले भनेका छन्, ‘‘मलाई कुनै समय खेलकुद निर्देशक बन्न मन लागेको छ । मलाई थाहा छैन त्यो बार्सिलोना पनि हुनसक्छ वा अन्य कुनै क्लब पनि हुन सक्छ । यदी बार्सिलोनाबाट त्यो अवसर आयो भने म फर्किनेछु । किनभने त्यो मलाई सबभन्दा मनपर्ने क्लब हो । म त्यही काम गर्न चाहन्छु ।’’

बार्सिलोना छाड्दा सम्भवतः मेसी र वर्तमान अध्यक्ष जोन लापोर्टा बीचको सम्बन्ध चिसिएको छ । तर जार्भी हर्नान्डेज क्लबको मुख्य प्रशिक्षक बनेर बार्सिलोना फर्किएका छन् । त्यसकारण मेसीलाई बार्सिलोना फर्काउन जाभी कारक बन्न सक्छन् । जाभीले क्लब छाड्नुअघि मेसीसँग उनको राम्रो सम्बन्ध थियो । चाहे त्यो मैदान भित्र होस् या बाहिर । मेसी र जाभीको मित्रता गज्जबको थियो । 

पीएसजीमा मेसीको करियर सोचेजस्तो राम्रो बन्न सकेको छैन । उनी निरन्तर घाइते बनेका छन् । र, फ्रान्सको राजधानीको वातावरणमा मेसीले घुलमिन हुन गाह्रो भइरहेको छ । मैदान बाहिर मात्र होइन भित्र पनि मेसी राम्रोसँग घुलमिल भइसकेका छैनन् । उनका लागि राम्रो वातावरण बनिसकेको छैन । त्यसकारण सबैले सोचेभन्दा र अपेक्षा गरेभन्दा चाडै मेसी बार्सिलोना फर्किए भने अचम्म हुनेछैन । मार्काको सहयोगमा

सम्बन्धित समाचार