रुकुमपूर्व । रुकुमपूर्वमा व्यवसायिक रुपमा गरेको किवी खेतीबाट राम्रो उत्पादन भइरहे पनि बजार नपाएको गुनासो किसानहरुले गरेका छन् ।
जिल्लामा तीन गाउँपालिका रहेको सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश ठाउँमा किवी खेती गरिएको छ । लटरम्म फलेका किवीले बजार भने नपाएको किसानहरु बताउँछन् ।
भूमे गाउँपालिका–५ दालिबाङका मोहनसिंह पुनले ३ वर्ष पहिले मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेको र उत्पादन राम्रो भइरहे पनि बजार नपाएको बताए ।
‘विभिन्न किताब र युट्युब च्यानलबाट किवी खेती गर्ने तरिकाबारे जानकारी लिएँ । धेरै ठाउँमा पुगेर किवी फर्मको पनि अवलोकन गरेर परीक्षणको रुपमा सुरुको वर्षमा लगाएको बोटले राम्रै फल दिन थाल्यो,’ उनले भने, ‘पछि करिब १० लाख लगानी गरेर व्यवसायिक रुपमा किवी खेती गरियो । उत्पादन राम्रो भइरहेको छ, तर बिक्री हुँदैन ।’ करिब १५ रोपनी जग्गामा उत्पाखित किवीले बजार नपाउँदा नोक्सानी व्यहोर्नु परिराखेको उनको भनाइ छ ।