उपनिर्वाचन : कर्णालीमा आठ पदमा ४४ जनाको उम्मेदवारी

15.4k Shares

कर्णाली– कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त आठ पदमा ४४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका हुन् ।

कर्णालीमा नलगाड नगरपालिकाको उपप्रमुख, महावु गाउँपालिका दैलेखको अध्यक्ष, सर्केगाड गाउँपालिको उपाध्यक्षका साथै विभिन्न स्थानीय तहमा पाँच वडाध्यक्षको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।

नगर उपप्रमुखका लागि छ, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि सात–सात पाँच वडाध्यक्ष पदका लागि २४ जना उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा छ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको विसं २०८० कात्तिक १८ गतेको भूकम्पमा परी निधन भएपछि रिक्त रहेको पदमा नेपाली कांग्रेसबाट इन्द्राचन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन, नेपाल समाजवादीबाट पवित्रा जैशीले मनोनयन गर्दा गरेका छन् ।

दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गैडाबाज दैलेखका अनुसार नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जङ्गबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी)बाट जगतबहादुर हमाल, एमालेबाट जङ्गबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले अध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।

त्यसैगरी, दुल्लु नगरपालिका–१३ दैलेखको वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट रेशमबहादुर शाही, एमालेबाट लालबहादुर शाही, माओवादी केन्द्रबाट ढकेन्द्र शाही, नेमकिपाबाट पूर्णप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम मल्ल गरी छ जनाले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार