काठमाडौं । गुण्डा नइके चरी र घैंटेको प्रहरीले इन्काउन्टर गरेपछि एकाएक दुला पसेका गुण्डाहरु पछिल्लो समय फेरि सल्बलाउन थालेका छन् ।
काठमाडौं उपत्यकामा प्रहरीले गुण्डा नाइकेहरुलाई इन्काउन्टर गर्न थालेपछि दुला पसेका गुण्डाहरु गत शुक्रबार बेलुकी काठमाडौंको कुलेश्वरमा भएको घटनाले फेरि काठमाडौंमा गुण्डागर्दी सुरु हुन थालेको भान भएको छ । सामान्य कवाडी पेसा गर्दै आएका सर्लाहीका मुकेश प्रसाद साहलाई खाजा खाइरहेको अवस्थामा एकाएक गुण्डाहरुले धारिलो हतियार प्रयोग र रड प्रयोग गरी घाइने बनाएका छन् ।
मुकेश प्रसाद साहलाई कुलेश्वर स्टार दरबार फुडल्याण्डमा अन्दाजी बेलुकी ९ बजेको समयमा साउन चार गते गुण्डाहरु कुलेश्वर बसोबास गर्ने रोशन चौधरी, बाबुनन्द चौधरी, दिपु चौधरी, काभ्रे पनौतीका प्रेम लामा, सिन्धुपाल्चोक श्याम ठकुरी, सुनसरीका प्रकाश बस्नेतलगायत झण्डै १५ जनाको समूहले धारिलो हतियार रडसहित आक्रमण गरी घाइते बनाएका हुन् ।
सामान्य कवाडी व्यवसाय गर्दै आएका मुकेश प्रसाद साह कुलेश्वर स्टार दरबार फुडल्याण्डमा बेलुकी खाजा खाई घर जाने तरखरमा रहेका बेला मुकेश साह भनेको को हो भन्दै दिपु चौधरीले सोध्दा ‘मुकेश साह भनेको मै हुँ’ भनेपछि दिपु चौधरी र मुकेश चौधरीले फोन गरी झण्डै १५—१६ जनाको समूह बोलाई एक्कासी आफूलाई धारिलो हतियार र रडसहित आक्रमण गरेको मुकेश कुमार शाहले खोजतलासलाई बताएका छन् ।
रड, धारिलो हतियारसहित आएका गुण्डाहरुलाई बुलन्द चौधरीले ठोक भन्दै गालीगलौजका शब्दहरु प्रयोग गर्दै आदेश दिएको मुकेशले जानकारी गराएका छन् । त्यस पछि ज्यानै लिने उद्देश्यका साथ आएका गुण्डाहरुले अन्धाधुन्द आक्रमणबाट आँखा, टाउको तथा विभिन्न शरीरका बिभिन्न भागहरुमा चोटपटक लागी गम्भीर घाइते भएका मुकेशसँग भएका गरगहनाका साथै नगदसमेत लुटेर भागेको घटना देखेका प्रत्यक्षदर्शीहरुले जानकारी गराएका छन् । प्रत्यक्ष दर्शीहरुले प्रहरीलाई घटनाको बारेमा जानकारी गराएको केही समयभित्रै प्रहरी पुगेको कारण पनि मुकेशको ज्यान बाँचेको प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ ।
काठमाडौंमा भएको यस्तो जघन्य अपराधमा सम्लग्न गुण्डाहरुको बारेमा पीडित मुकेश प्रसाद साहले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दिए पनि सो जाहेरी अहिलेसम्म दर्ता नभएको पीडितले गुनासो पोखेका छन् । लामो समसदेखि यस्तै गुण्डागर्दी गर्दै आएका इन्द्रेनी हार्डवेयरका संचालक रोशन चौधरी र बाबु नन्द चौधरीलाई किन प्रहरीले संरक्षण गर्दै आइरहेको छ । यस विषयमा खोजतलास जारी रहेको छ ।