काठमाडौं, १२ असोज । पाकिस्तानमा भएको एक भीषण विस्फोटमा ५२ जना मारिएको खबर छ । यो विस्फोट शुक्रवार बलोचिस्तान प्रान्तमा एक मस्जिद नजिकै भएको हो जहाँ मानिसहरू पैगम्बर मुहम्मदको जयन्ती मनाउन जम्मा भएका थिए । प्रहरीलाई मस्तुङ सहरमा धार्मिक भीडलाई निशाना बनाउनका लागि यो आत्मघाती हमला गरेको हुनसक्ने आशङ्का छ ।
जिल्ला स्वास्थ्य अधिकारी मस्तुंग रशीद मुहम्मद सईदले मस्तुङ जिल्लामा अल फलाह रोडस्थित मदिना मस्जिद नजिकै भएको विस्फोटमा कम्तीमा ५२ जना मारिएका छन् र दर्जनौँ घाइते भएका छन् । मृत्यु हुनेमा डिएसपी नवाज गशगुरी पनि छन् । मस्तुङका सहायक आयुक्त अत्ता अल-मुनैमका अनुसार सहरको मदिना मस्जिद नजिकै इद अल–मिलाद अल–नबी मनाउन मानिसहरू भेला भइरहेका बेला विस्फोट भएको थियो ।