गठबन्धन खरानीको डल्लो हो, सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छः ओली

16.2k Shares

काठमाडाैँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन्। सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे।बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरुले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोपसमेत लगाए।

ओलीले सत्तारुढ प्रमुख घटक कांग्रेस प्रतिगामी सोचसाथ अघि बढिरहेको जिकिर पनि गरे। उनले कांग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको बताए। कांग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाइ थियो।

उनले भने , ‘नेकपा एमालेसँग मेजरिटी छैन। हामी सरकार भन्दा बाहिर छौं। प्रतिपक्षमा छौं। त्यसकारण हामीले सुझाव दिने हो। त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि। गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन रु म भन्न सक्दिन। किनभने यो खरानीको डल्लो हो। यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ। त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ रु एमालेले कांग्रेसलाई केमा सहयोग गर्ने र, प्रतिगमनका लागि। कांग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि।  कांग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन। प्रतिगामी सोचका साथ अघि बढिराखेको छ। जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ कांग्रेस।’ओलीले कांग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताए।

उनले गत पुस १३ गते भएको बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई लक्षित गर्दै मन्त्रीको कारण जनताको मृत्यु भएको  अवस्थामा सरकारका मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गरेका हुन्।उनले भने,’हिजोका दिनमा एमालेका मन्त्रीहरूले सामान्य कुरा गर्दासमेत राजीनामा दिएको अवस्था छ। शेरबहादुर तामाङ, गोकुल बास्कोटा, हरि पराजुलीलगायतले विवादमा आएपछि राजीनामा दिएको अवस्था थियो। तर, अहिले घटनामा मुछिएपछि राजीनामा आउनुपर्ने हो।’

मन्त्रीको राजीनामा एमालेको बटमलाइन नभएको प्रस्टाउँदै उनले भने,’क्याविनेट मन्त्रीको कारण घटना भएको छ। क्याविनेट मन्त्रीको दोष हो। उहाँका कारण यत्रो मान्छे मर्ने घटना भयो। फेरि पनि उहाँ निर्लज्ज भएर झण्डा हल्लाएर हिँड्न मिल्छ? उहाँले राजीनामा गर्नुपर्दैन?’

सम्बन्धित समाचार