न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडित सडकमै सुते

16.3k Shares

काठमाडौं । न्याय खोज्दै पुनः काठमाडौं आएका मिटरब्याज पीडितहरूको आन्दोलनमा प्रहरीले अवरोध गरेको छ ।भृकुटीमण्डपबाट सिंहदरबार तर्फ जान लागेका उनीहरूलाई भृकुटीमण्डप अघि नै प्रहरीले रोकेको हो । पीडितहरू नारा र प्लेकार्डसहित सिंहदरबार तर्फ अघि बढेका थिए ।अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा एउटा समूहले झापाबाट र अर्को समूहले महेन्द्रनगरबाट पैदलयात्रा सुरु गरेको थियो । दुवै टोली चितवनमा भेट भएर सँगै काठमाडौं आएका थिए ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरूको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरू पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।उनीहरुले आफूहरु विरुद्ध मिटरब्याजीको धरपकड नरोकिएको, फर्जी तमसुकको आधारमा जग्गा हडप्ने काम भइरहेको बताएका छन् ।

सम्बन्धित समाचार