तस्कर समूहमाथि सशस्त्रद्वारा कसरी भयो खुकुरी प्रहार ?

18.6k Shares

झापा । झापामा डिउटीमा रहेका सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा सशस्त्र र तस्कर समूह दुवैतर्फ घाइते भएका छन् ।

तस्करी गर्ने समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले प्रतिकार गरेको थियो । त्यसक्रममा सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमाल र सशस्त्र प्रहरी सहायक हबलदार दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । सहायक हबलदार बस्नेतको हातमा गम्भीर चोट लागेकाले शल्यक्रिया गरिएको छ ।

उता, तस्करी गर्ने समूहतर्फ दीपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईं, आनह यादव र दीपक बातर घाइते भएका छन् । खुकुरी प्रहारबाट दीपा बातरको हातको औंला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ । विशेष राजवंशी र मिलन चापागाईंको हात काटिएको छ । दीपक बातर र आनह यादवको शरीरमा चोट लागेको छ ।

भारतबाट सामान ल्याउनेलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा झडप भएको र त्यसक्रममा स्थानीय र सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले बताए ।

तस्कर समूहले भने सशस्त्र प्रहरीले खुकुरी प्रहार गरेको दाबी गरेको छ । तर, सशस्त्रले भने डिउटीमा रहेको आफ्नो टोलीलाई घेरा हालेर आक्रमण गर्न थालेपछि झडप भएको बताएको छ ।

सशस्त्र प्रहरीका अनुसार शुक्रबार मेचीनगर नगरपालिका–७ गैरिगाउँस्थित सीमा इलाकाबाट ठूलो परिमाणमा तस्करीको सामान भित्रिँदै गरेको सूचनापछी बीओपी सतिघट्टाबाट सशस्त्र प्रहरीको टोली खटिएको थियो । सो टोलीले करिब १ लाख रुपैयाँबराबरको कपडा बरामदसमेत गरेको थियो । त्यसपछि पनि थप सामान आउँदै गरेको सूचना सशस्त्र प्रहरीले पाएको थियो । जम्मा पाँच जनाको संख्यामा रहेको सशस्त्र प्रहरीले भन्सार छलीको सामान जफत गरेपछि ३०÷ ३५ जना व्यक्ति सशस्त्रमाथि जाइलागेका थिए ।

त्यसपछि थप मद्दतका लागि सशस्त्र प्रहरी निरीक्षक रिमालको कमान्डमा थप जनशक्ति घटनास्थलतर्फ गएको थियो । त्यसक्रममा सशस्त्रको गाडीमाथि नै ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन सामान्य बल प्रयोग भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । स्थानीयमाथि खुकुरी प्रहारको विषयमा छानबिनपछि मात्र भन्न सकिने उनले बताए । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार