काठमाडौं । पछिल्लो समय मुलुक डिजिटल युगमा प्रवेश गर्दै गएको छ । प्रायःः हरेक क्षेत्रका केही न केही काम डिजिटल हुन थाल्दा सेवाग्राहीले सहज रुपमै सेवा पाइरहेका छन् ।
विश्व बजारमा प्रविधिका कारण मानवरहित श्रमको युगमा प्रवेश गरिसकेको छ । नेपालमा पनि यसको ढिलोचाँडो अभ्यास गर्ने क्रममा कम्पनीहरू देखिन्छन् ।
कुनै पनि कम्पनीको रोजगारका लागि आवेदन पछिल्लो समय अनलाइनबाटै दिन सकिन्छ । आवेदन अनलाइन प्रणालीबाट लिएपनि परीक्षा र अन्तर्वार्ता भने कार्यालय धाएर नै गर्नुपर्ने बाध्यता भने कायम नै छ ।
मानव संशाधन तथा यसका लागि परामर्श दिँदै आएको कम्पनी रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगम अहिले क्रमशः रोजगारका क्षेत्र प्रविधिमैत्री बन्दै गएपनि पूर्णरुपमा भइनसकेको बताउँछन् ।
कोभिड १९ को महामारीपछि नेपालले प्रविधिको क्षेत्रमा ठूलो फड्को मारेको उनी बताउँछन् । त्यही समयदेखि अनलाइनबाट नै रोजगारीका लागि आवेदन दिने जस्ता व्यवस्थाहरूको प्रयोग बढ्यो । जसले निरन्तरता पाउँदै गर्दा कम्पनीहरूले त्यसलाई स्वीकार गरेका छन् । अहिले मानव संशाधन व्यवस्थापनको काम गर्दै आएका कम्पनीहरूमा छुट्टै विभागको रुपमा आईटी विभाग हुने गरेको उनी बताउँछन् ।

डाटा इन्ट्रीदेखि अनलाइन फर्म हुँदै अब सेलेक्सनसम्म सफट्वेयरले नै गर्छ । भर्ना तथा छनोट कार्यक्रममा उमेर, योग्यता पुगेको छैन भने त्यहीँ रोकिन्छ । प्रविधिका कारण यो सम्भव भयो ।
यद्यपी धेरै जसो कम्पनीहरूमा अझै पनि परीक्षा तथा अन्तर्वार्ताका लागि कार्यालयले तोकेको स्थानमा धाउनुपर्ने बाध्यता भने हट्न सकेको छैन । कुनै बैंकको परीक्षा होस् वा कुनै कम्पनीको अहिले पनि अनलाइनमार्फत परीक्षा भएको पाइँदैन ।
अध्यक्ष जंगमका अनुसार, प्रविधिको बढ्दो प्रयोगले नेपालमै पनि करिब ५० प्रतिशत कम्पनीले अनलाइन वा भर्चुअल प्रविधिको प्रयोग गरि परीक्षा तथा अन्तर्वार्ता गरेर कर्मचारी छनोट गर्ने गरेका छन् । बाँकीले भने भौतिक रुपमा परीक्षा तथा अन्तर्वार्ताको काम गर्ने गरेको उनको भनाइ छ ।
रोलिङ नेक्ससले अहिले २० औं वार्षिकोत्सव मनाएको छ । कम्पनीका अध्यक्ष जंगमले कम्पनीले २० वर्षको अवधिमा बोराका बोरा आवेदन फर्म बोकेर महिनौं लगाएर चेकजाँच गरि कर्मचारी नियुक्ती गर्नुपर्ने बाध्यता रहेको सम्झन्छन् । उनी भन्छन्,‘विगतमा बोराका बोरा आवेदन बोकेर महिनौंसम्म चेकजाँच गर्नुपर्ने बाध्यता थियो । अहिले त्यो बाध्यता हटेको छ । सबै काम अनलाइनबाटै हुँदा सबैलाई सहज भएको छ ।’
जनशक्ति र कम्पनीको पुलदेखि आफैं रोजगारी दिने अवस्थासम्म
अटोमोबाइल इन्जिनियरिङ गरेका जंगमले आजभन्दा २० वर्षअघि रोलिङको स्थापना गरेका थिए । सुरूवाती दिनमा कम्पनी र जनशक्तिको बीचमा रोजगारीका लागि पुलको काम गर्दै आएको यस कम्पनीले २० वर्षको अवधिमा आफैं रोजगारी सिर्जना समेत गर्दैै आएको छ ।
कम्पनीका अध्यक्ष जंगमका अनुसार, कम्पनीले कल सेन्टर लगायतमा अहिले करिब तीन सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । यसबाहेक कम्पनीको तर्फबाट हजारौंले विभिन्न कम्पनीहरूमा रोजगारीका लागि प्रवेश पाइसकेका छन् ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै अहिलेसम्म सातवटा विभिन्न कामहरू गर्दै आएको छ । कम्पनीले रोलिङ जब, रोलिङ टेण्डर, रोलिङ फ्रिल्यान्स, रोलिङ क्याट, रोलिङ छलफल, रोलिङ इभेन्ट, कर्मशील लगायतको माध्यमबाट विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, अन्तर्राष्ट्रिय विकास एजेन्सीहरू, गैरसरकारी संस्थाहरू, सरकारी तथा अर्धसरकारी आयोजनाहरूलाई आउटसोर्सिङ गर्दै आइरहेको छ । यस्तै, विश्वविद्यालय तथा शैक्षिक संस्थाहरू, प्राइभेट तथा पब्लिक लिमिटेड कम्पनीहरू लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई समेत आउटसोर्सिङको काम गरिरहेको छ ।
जसलाई समय सान्दर्भिक बनाउँदै लैजाने उनी बताउँछन् । यसबाहेक समयको माग अनुसार अन्य परियोजना थप्ने उनको भनाइ छ ।
कम्पनीले अबको करिब एक वर्षभित्रमा तीन सय जनाबाट चार हजार जनशक्तिले रोजगारी पाउने गरी काम गरिरहेको अध्यक्ष जंगम बताउँछन् । बेरोजगारलाई रोजगार दिलाइ दिने अनि व्यवसायीलाई कामदार आपूर्ति गरि दिने मात्र नभइ नेपाली जनतालाई आत्मनिर्भर बनाइ मुलुकलाई समृद्ध बनाउनुपर्छ भनेर लागिपरेका सफल युवा उद्यमीको नाम हो, अनुप जंगम ।
विगत दुई दशकदेखि अनुप जंगमले मुलुकमा काम गर्न चाहनेका लागि मात्र होइन, विदेशी भूमिमा गएर परिश्रम गरेर मुलुकमा रेमिट्यान्स भित्र्याउन चाहनेका लागि पनि सारथी भएर उभेका छन् ।
काठमाण्डु युनिभर्सिटीबाट एमबीए र त्रिविविबाट एमफिल गरेका जंगमले रोलिङ नेक्ससमार्फत विदेशमा रहेका नेपाली लक्षित सुविधा पनि दिइ रहेका छन् । विदेशमा काम गरिरहेकालाई नेपाल आएपछि आफूले पाउने अवसर तथा व्यवसायका लागि आइडिया दिने प्ल्याटफर्म समेत उपलव्ध गराइ रहेका छन् ।
रोलिङ नेक्ससले व्यावसायिक सेवा दिन विभिन्न ७ वटा समुहहरु छुट्याएको छ । जब, टेण्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेष्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लाटफर्मको प्रयोग गरि विभिन्न सेवा लिन सकिने सुविधा दिंदै आएको छ ।
स्वदेशी उत्पादनको बजारीकरणसमेत गर्दै आइरहेको नेक्ससले रोजगारी खोज्नेबाट शुल्क लिने नगरेको युवा उद्यमी जंगमले बताए ।