काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने विषयमा पार्टी फुटको संघारमा पुगेको हो । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने कि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समर्थन गर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद बढेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन भन्दै आएका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुको माग जसले पूरा गर्छ, उसैलाई समर्थन गर्ने भन्दै प्रधानमन्त्री ओलीसँग नियमित छलफल गर्दै आएका छन् ।
‘उपेन्द्र यादव आफ्नो अडानमा यस्तै रहिरहने हो भने पार्टी विभाजन हुन्छ,’ अध्यक्ष ठाकुरनिकट एक नेताले भने, ओलीको नेतृत्वमा सरकार बन्दा उपेन्द्र यादव त्यसमा सहभागी हुन मिल्ने, तर आज ओलीले जसपा नेपालका सबै माग पूरा गरे भने उनलाई समर्थन गर्न किन नहुने ?’
‘उपेन्द्र यादवको यस्तै बानीले गर्दा पार्टी पटक–पटक विभाजन भएको छ,’ जसपाको ती नेता भन्छन्, ‘आफूले गर्दा ठीक, अरुले गर्दा बेठीक ? उहाँको यही अडान रह्यो भने जसपा नेपाल विभाजित हुन्छ ।’
सन् २००९ मा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कि माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा पार्टीभित्र विजयकुमार गच्छदारसँग विवाद हुँदा पार्टी विभाजन भएको थियो । उपेन्द्र यादव प्रचण्डको पक्षमा थिए भने गच्छदार माधव नेपालको पक्षमा थिए । अहिलेको जस्तै त्यतिबेला पनि दुईतर्फी अडान लिँदा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल विभाजित भएको थियो ।
त्यसपछि पनि सरकारमा जाने वा कसलाई समर्थन गर्ने÷नगर्ने विषयमा विवाद हुँदै गर्दा जेपी गुप्ताले पनि पार्टी विभाजन गरेका थिए । अमर यादव, भाग्यनाथ गुप्तालगायत पनि उपेन्द्र यादवबाट पार्टी विभाजन गरेर अलग भएका थिए ।
पछिल्लो समय रेणु यादवको नेतृत्वमा पार्टी विभाजन हुनै लागेको थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तारतम्य मिलाएका थिए । दल फुटाउने अध्यादेश ल्याएर रातारात जसपा फुटाएर अर्को दल दर्ताको तयारी भइरहेको थियो । एमालेका महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजी सर्वेन्द्र खनालले जसपा विभाजनकै लागि सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा मधेसबाट काठमाडौं ल्याएका थिए ।
तर, केपी ओलीको योजना वीचैमा पर्दाफास भएपछि ०७७ बैशाख १० गते तत्कालीन राजपा र संघीय समाजवादीबीच एकीकरण भयो र राजपा बन्यो । सोही एकीकरणका कारण पार्टी विभाजनबाट जोगियो । पार्टी एकीकरण हुँदैगर्दा पार्टी विभाजन गरियो भने मधेसमा राम्रो सन्देश नजाने भएकाले रेणु यादवहरू पनि पार्टी विभाजन गर्नबाट पछि हटे ।
तर, अहिले जसपा नेपाल पुरानै अवस्थामा आइपुगेको छ । उपेन्द्र यादव र महन्थ ठाकुरले बुद्धि पु¥याएनन् भने पार्टी विभाजन निश्चित जस्तै भएको जसपाका नेताहरु बताउँछन् ।
पार्टीलाई विभाजनबाट रोक्नका लागि उपेन्द्र यादवले पनि केपी ओलीलाई समर्थन गर्नुपर्ने वा सो प्रकृयामा मौन बस्नुपर्ने माग महन्थ निकट नेताहरुको छ ।
त्यस्तै, महन्थ ठाकुरले पनि जसपा विभाजन हुनबाट रोक्न ओलीलाई समर्थन दिने अडान त्याग्नुपर्ने र कांग्रेस–माओवादीको गठबन्धनमा आउनुपर्ने नेताहरु बताउँछन् ।
जसपा नेपालको माग प्रचण्डले पनि पूरा गर्ने भनिरहेका छन् । तर, अहिले प्रचण्डका हातमा सरकार आउने ग्यारेन्टी छैन । ओली चाहिँ सत्तामा छन् र यही कार्यकालमा जसपा नेपालले उठाएको माग पूरा गर्न उनी तयार भएको महन्थ ठाकुर पक्षधर नेताहरुको बुझाइ छ ।
उपेन्द्र यादव र डा.बाबुराम भट्टराईले जसपाका सांसदहरुलाई बोलाएर कन्भिन्स गर्ने प्रयास गरिरहेका छन् । ओलीका कारण देशमा कसरी संघीयता खतरामा छ, लोकतन्त्र मास्न के के कदम चाले, संविधान संशोधनका बाधक कसरी भए लगायतका कुराहरु सांसदलाई बुझाउने प्रयास गरिरहेका छन् । त्यस्तै, महन्थ ठाकुर र राजेन्द्र महतोले पनि आफ्ना पक्षमा सांसदहरुसँग नियमित छलफल गरिरहेका छन् ।