काठमाडौं । प्रधानमन्त्रीको अवसर आउँदा उल्टै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदा एकजना भेट्रान नेता समस्यामा परेका छन् । उनलाई रेशम चौधरीले जेलबाट निर्वाचन आयोग पु¥याइँदा भीष्मपितामह त भने तर उनी वाणको त्यस्तै शैयामा पुगेका छन् । यतिबेला महन्थ ठाकुर न पार्टी आफ्नो हुने न भविष्यमा कुनै महत्वपूर्ण पदमा पुग्ने अवस्थामा छन् । उनी राजनीतिबाट अवकाशको अवस्थामा पुगेका छन् ।
गत वर्ष कोरोना कहर चलिरहँदा उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल फुटको सघारमा पुगेको थियो । फुटको उद्देश्यले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश नै ल्याउने अवस्था बनाए । लगत्तै महेश बस्नेतको सक्रियतामा समाजवादी पार्टी फुटाउने रणनीति बढ्यो । तत्कालीन समाजवादी पार्टीका सांसदहरु रेणुकुमारी यादव, उमाशंकर अरगरिया, प्रदीप यादव, कलुदेवी विश्वकर्मालगायत एकढिक्का भएका थिए । बाँकी सांसद संख्या पु¥याउन महोत्तरीबाट निर्वाचित डा. सुरेन्द्र यादवलाई मनाउन सांसद महेश बस्नेत, किसान श्रेष्ठ, पूर्वआइजीपी सर्वेन्द्र खनाल समेत तराई झरेका थिए । यादव उनीहरुसँगै काठमाडौं आएका थिए । साथमा समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया थिए ।
सांसद सुरेन्द्र यादव अन्तिम समयमा आएर यु टर्न हुँदा समाजवादी पार्टी फुटाउने योजना तुहिएको थियो । यादवले बस्नेतसहित आफूलाई ल्याउनेहरुविरुद्ध अपहरणको जाहेरी समेत दिए । तर, यो जाहेरी फाजिलमा राखियो । समाजवादी पार्टी फुटबाट जोगाउन महन्थ ठाकुर र राजेन्द्र महतो मैदानमा उत्रिए । तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकता गरेपछि जसपा फुटबाट जोगियो । ठाकुर र महतोले समाजवादी पार्टीको रेस्क्यु गरेका थिए । अहिले तिनै ठाकुर र महतो जसपाबाट पाखा लगाइने परिस्थिति निर्माण भएको छ ।
जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएका छन् । उनको साथमा डा. बाबुराम भट्टराई, अशोक राईलगायत नेताहरु छन् । भट्टराई संसदमा एकमात्र सिट जितेको तत्कालीन नयाँ शक्ति नेपालबाट संघीय समाजवादी फोरमसँग एकता गरेर आएका थिए । अहिले बाबुराम झन् शक्तिशाली बनेका छन् । कुनैबेला समाजवादी पार्टी फुटबाट जोगाइदिने महन्थ ठाकुरलाई अब उपेन्द्र यादवले कस्तो व्यवहार गर्लान् ? ठाकुर उपेन्द्रसँगै जसपामा टिकेर बस्न सक्लान् ? चासोको विषय बनेको छ ।
अहिलेको घटनाले जसपा विभाजित भइहाल्ने सम्भावना क्षीण भएको छ । दुवै पक्ष सरकारमा जान आतुर छ । यसकारण पनि जसपामा उपेन्द्रले महन्थलाई वाइपास गरेर जाने सम्भावना कम छ । सम्भवतः मिलेर जानेबारे दुवै पक्षबीच कुरा हुन सक्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने या नदिने विषयमा जसपा विभाजित भएको थियो । अब यो च्याप्टर क्लोज भइसकेको छ । उपेन्द्रले महन्थलाई के गर्लान् ? चासोको विषय बनेको छ ।