मोरङ, ७ साउन । जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा एक युवकले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन्।
आइतबार अपराह्न करिब ४ बजे प्रशासन कार्यालय क्षेत्रमा चेक बाउन्स मुद्दामा फरार कटहरी गाँउपालिका–३ का विनित सोनारले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार खोजी सूचीमा रहेका करिब ३२ वर्षीय सोनारले किटनाशक औषध ‘ट्रिक्कल’ सेवन गरेका थिए। फरार रहेका उनी अपराह्न प्रशासन कार्यालय पुगेका थिए।
प्रशासन कार्यालय पुगेको खबरसँगै प्रहरी पक्राउ गर्न पुगेको थियो। प्रहरीलाई देखेसँगै सोनारले किटनाशक औषध सेवन गरेको प्रवक्ता दाहालले जानकारी दिए।
प्रहरीका अनुसार सोनारको तत्काल उद्धार गर्दै उपचारका लागि कोसी अस्पताल पुर्याइएको थियो। कोशीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रवक्ता दाहालले बताए।