काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६:२५ बजे उनको निधन भएको अस्पतालले जानकारी गरेको छ ।
गएको दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । उनको त्यहाँ उपचार हुन नसकेपछि १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।
महरा पत्नीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।