काठमाडौ : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिएका छन् ।
मन्त्री ढकालले आइतबार कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताए । ‘तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ’, पीडितसित कुरा गर्दै मन्त्री ढकालले भने, ‘घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।’
त्यसक्रममा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिएका थिए । उनीसँर्गै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुगेका थिए । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिएका थिए ।
काठमाडौंको सीतापाइलामा बस्दै आएकी ओखलढुंगाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए ।
दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उहाँकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्र्थे । पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाडेकि थिइन् ।
पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको जानकारी दिए । ‘पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ’, उनले भने । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।–रासस