काठमाडाैँ । नेपाल टी-२० लिगमा लुम्बिनी अलस्टार्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको जित निकाल्यो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । उसका लागि कुशल मल्लले सर्वाधिक ६१ रन बनाउँदा उपुल थरङ्गाले ४२ रन बनाए । अन्य खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन् । पोखराका पछिल्लो क्रम लगातार विकेट पतनको सिकार भएको थियो । दुई खेलाडीले मात्र दोहोरो रन बनाएका थिए ।
लुम्बिनीका लागि स्याली भान सेलक्वाकले ३ विकेट लिँदा किशोर महतो र गुल्सन झाले समान २-२ विकेट लिएका थिए । त्यस्तै, हर्मित सिंह र सागर ढकालले समान १-१ विकेट लिए ।
१३४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । उसका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन जोडे । त्यस्तै, उन्मुक चन्दले २२ रन बनाउँदा स्याली भान सेलक्वाकले ३१ रनको नटआउट इनिङ खेलेका थिए । उनले विजयी छक्कासमेत प्रहार गरे । पोखराका लागि विपिन्न खत्री र कुशल मल्लले समान २-२ विकेट लिएका थिए ।
जितसँगै लुम्बिनी तीन खेलबाट ६ अङ्कका साथ शीर्ष स्थानमा कायम छ । उसले यसअघि विराटनगर र फार वेस्टर्न युनाइटेडलाई पराजित गरेको थियो । लिगमा जनकपुर लगातार दुई जित सहित अङ्क तालिकामा ४ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।