काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै एक वर्षमा गभर्नरले पाएको तलब, भत्ताको विवरण सार्वजनिक गरेको छ ।
वार्षिक प्रतिवेदन अनुसार, गभर्नर महाप्रसाद अधिकारीले वर्षभरीमा ४९ लाख ५ हजार २५५ रुपैयाँ बुझेका छन्। उनले एक वर्षमा तलबबापत १४ लाख १८ हजार ४ सय रुपैयाँ बुझेका हुन् । यस हिसाबले उनको मासिक तलब १ लाख १८ हजार २०० रुपैयाँ हुन्छ । यसबाहेक सञ्चालक समिति भत्ताका रूपमा ३ लाख ५ हजार रुपैयाँ बुझेका छन्। उनले सबैभन्दा बढी अन्य सुविधा बुझेका छन् । यसबापत उनले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका हुन् ।
राष्ट्र बैंकमा सरकारले पदेन सञ्चालक बनाएर अर्थसचिवलाई पठाएको हुन्छ । अहिलेका अर्थसचिव कृष्णहरि पुष्करले केही पनि नलिएको देखिन्छ ।
अघिल्ला अर्थसचिव मधुकुमार मरासिनीले भने बैठक भत्ताबापत २ लाख ५८ हजार र अन्य सुविधाबापत ४ लाख ८५ हजार ४२५ रुपैयाँ बुझेका छन् । मरासिनी अघिका सचिव शिशिरकुमार ढुंगानाले बैठक भत्ता १० हजार र अन्य सुविधा बापत ३१ हजार २३८ रुपैयाँ बुझेका छन् ।
राष्ट्र बैंकका दुई डेपुटी गभर्नरले तलब, बैठक भत्ता र अन्य सुविधा लिएका छन् । वरिष्ठ डेपुटी गभर्नर नीलम ढुंगानाले वर्षभरीमा ४२ लाख ६० हजार ११३ रुपैयाँ बुझेकी छन् । उनले तलबबापत १२ लाख ६९ हजार ६ सय रुपैयाँ, बैठक भत्ताबापत २ लाख ७३ हजार र अन्य सुविधा २७ लाख १७ हजार ५१३ रुपैयाँ बुझेकी छन् ।
अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले पनि ४२ लाख २ हजार १७ रुपैयाँ बुझेका छन् । उनले तलबबापत १२ लाख ६९ हजार ६०० रुपैयाँ, बैठक भत्ता २ लाख ९६ हजार रुपैयाँ र अन्य सुविधाबापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ बुझेका छन् ।
सञ्चालकहरु चिन्तामणि शिवाकोटीले १ लाख २५ हजार ५६४ र शंकर आचार्यले १ लाख १३ हजार ४१२ रुपैयाँ बुझेका छन् । उनीहरु आर्थिक वर्ष सकिन केही अगाडि मात्र नियुक्त भएकाले भत्ता र सुविधा कम देखिएको हो ।
त्यसअघि श्रीराम पौडेलले १३ लाख ३८ हजार ३५४ र रामजी रेग्मीले ५ लाख ७७ हजार १९ रुपैयाँ बुझेका थिए । अर्का सञ्चालक सुबोध कर्णले ८ लाख ४७ हजार ५१६ रुपैयाँ बुझेका छन् । पछिल्लो समय उनलाई सञ्चालक समितिको बैठकमा आउन दिइएको छैन ।