काठमाडौं । गोदावरी नगरपालिकाको सहकार्यमा नेपाल सितोरियो कराते संघ जिल्ला प्रमुख डोजो ललितपुरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएको छ ।
आगामी माघ २६ गतेदेखि २८ गतेसम्म सातदोबाटो कभर्डहलमा आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जिल्ला प्रमुख डोजो ललितपुर प्रमुख दिपक श्रेष्ठले जनाएका छन् ।
गोदावरी नगर पालिकाको सहकार्यमा उक्त प्रतियोगिता हुन लागेको आयोजक नेपाल सितेरियो कराँते संघ जिल्ला प्रमुख डोजो ललितपुरले जनाएको हो । नगरपालिकाले प्रतियोगिता आयोजना गर्न यस अघि नै चार वर्षका लागि सम्झौता गरिसकेको छ ।
प्रतियोगितामा सात प्रदेश र तिन विभागिय टोलीका २ सय ४० जना खेलाडी, ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक र २० जना प्राविधिक गरी ३ सय १० जनाको प्रत्यक्ष सहभागिता हुने जिल्ला डोजो प्रमुख दिपक श्रेष्ठले जनाएका छन् ।
खेलकुद महोत्सवको रुपमा आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ र ८४ केजी तौल भन्दा माथी काता र टिम काताको स्पर्धा गराइने जनाइएको छ । यसै गरी महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ र ६८ केजी तौल भन्दा माथीको प्रतियोगिता हुनेछ । प्रत्येक प्रदेशबाट २१ जना खेलाडी र २ जना व्यवस्थापकले सहभागिता जनाउनेछन् । खेलाडीको आवास तथा यातायतको सुविधा आयोजकले दिने गरी तयारी गरिएको डोजो प्रमुख श्रेष्ठले जनाएका छन् ।
उक्त प्रतियोगिता १९ औं एसियाली खेलकुदलाई समेत मध्यनजर गर्दै सोको तयारी स्वरुप गर्न लागिएको आयोजकले जनाएको छ । जिल्ला डोजोका सचिव विनोद महर्जनका अनुसार प्रतियोगिता सम्पन्न गर्न करिव ४९ लाख खर्च हुनेछ । सो पत्रकार सम्मेलनमा बागमती प्रदेश सभासद मीनकृष्ण महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, कराते महासंघका केन्द्रीय अध्यक्ष दावा गुरुङलगायत कराते खेलका बारेमा आ—आफ्नो विचारसमेत प्रस्तुत गरेका थिए ।