काठमाडौं, २ असोज । काठमाडौ महानगरपालिकाले शनिबार (असोज १)देखि सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन गर्न निषेध गरेको छ ।
महानगरले गएको बुधबार यससम्बन्धी सूचना निकालेको थियो । सूचनाअनुसार शनिबारदेखि सर्वजनिकस्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा त्यस्तै प्रकारका अरू पदार्थको नशा लिने वा सेवन गर्न निषेध गरिएको छ ।
यस्तो कार्य गर्ने व्यक्तिलाई सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ का आधारमा सजाय गरिने र जरिवाना तोकिने सूचनामा उल्लेख छ । यस ऐनानुसार २०६८ सालमै सार्वजनिकस्थलमा धूमपान र सुर्तीजन्य पदार्थको सेवन निषेध गरिएको थियो । तर, ऐनको कार्यान्वयन राम्रोसँग गरिएन ।
ऐनमा सरकारी निकाय, शिक्षण संस्था, पुस्तकालय, तालिम केन्द्र, विमानस्थल, बालकल्याण गृह, सार्वजनिक शौचालय, उद्योग, कलकारखानाका कार्यस्थल, सिनेमा हल, नाटकघर, होटेल, रिसोर्ट, बार, क्यान्टिन, लज, होस्टेल, रंगशाला, जिम, स्वीमिङ पुल, डिपार्टमेन्टल स्टोर्स, धर्मशाला, सार्वजनिक प्रतीक्षालय, टिकट काउन्टरलगायत स्थानलाई सार्वजनिकस्थलका रूपमा परिभाषित गरिएको छ । तर, यसमा सडक वा बाटो समेटिएको छैन ।
उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल्सिना ‘सार्वजनिकस्थलको परिभाषामा सडक वा बाटो नसमेटिँदैमा सडकमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गर्न मिल्ने भन्न नमिल्ने’ बताउँछन् । ऐनको परिभाषामै उक्त शब्द उल्लेख गर्नुपर्नेमा समेत उनी जोड दिन्छन् ।
उक्त ऐनमा कारागार, विमानस्थल वा पर्यटकीयस्तरको होटेलको कुनै खास ठाउँमा अरू व्यक्तिलाई असर नपर्ने गरी धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने ठाउँको व्यवस्था गर्न सकिने उल्लेख छ ।
सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गरेमा हुने सजाय
सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा सार्वजनिकस्थलमा धूमपान वा सुर्ती सेवन गरेको पाइएमा तुरुन्त रोक लगाउने, रोक लगाउँदा नमाने