पर्सा । लामो समयदेखि रोकिएको बिरगंजको मिनी क्यासिनो अर्थात् जुवा अखडा फेरि सेटिङमा शुरू भएको छ । झण्डै तीन महिनादेखि रोकिएको उक्त जुवा अखडा दुई सातादेखि संचालनमा रहे पनि दैनिक रूपमा भने संचालनमा छैन । अघिल्लो साता बिन्दबासिनी गाउँ पालिका ३ मा राज कुमारको घरमा तीन दिन संचालन भएको उक्त जुवा अखडा अहिले मुरलीचोकमा शुरू भएको छ । शंकर साह र रविन्द्र कुशवाहले अहिले सो जुवा अखडा संचालन गरिरहेका छन् ।
भारत रक्सौलका सुरेश समेत संचालक रहेको उक्त जुवा अखडामा हेटौंडा, सर्लाही, रौतहट हँुदै धनुषादेखिका जुवाडेहरू आउने गरेको त्याहां खेल्न जाने जुवाडेहरू नै बताउँछन् । जिल्ला प्रहरी कार्यालयले भने जुवा संचालनबारे जानकारी नभएको र यदि त्यस्तो भएमा कारवाही गरिने बताएको छ ।