ललितपुर । उपत्यकाको भौगोलिक हिसावले सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकामा १ देखि १० वडासम्मको मतगणना अनुसार नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर राना नेपाली कांग्रेसका मेयरका उम्मेदवार गजेन्द्र महर्जनभन्दा एक हजार एक सय २० मतले अगाडि रहेका छन् ।
तर, भोट बैंकको रुपमा रहेको वडा नं. ११ र १२ मा करिब १० हजारभन्दा बढी मत खसेको छ । विगतलाई हेर्ने हो भने ११ र १२ वडामा मात्र झण्डै ८० प्रतिशत नेपाली कांग्रेसका मेयरका उम्मेदवार गजेन्द्र महर्जनले लिन सफल भई झण्डै ३ हजार मतको अन्तरले विजयी भएका थिए । यसरी हेर्दा गजेन्द्र महर्जनको जित सुनिश्चित छ । २०७४ सालको स्थानीय निर्वाचनमा पनि १ देखि १० नम्बर वडासम्म मत गन्दा त्यतिबेला एमालेका उम्मेदवार श्याम सिलवालले दुई हजारभन्दा बढी मतले अगाडि बढेको अवस्थामा ११ र १२ नम्बर वडाको मत गन्दा सिलवाल महर्जनभन्दा दुई हजारभन्दा बढी मतले पछाडि परेका थिए । १३ र १४ नम्बर वडाको मत गन्दा पनि महर्जन अगाडि नै देखिएका परेका थिए । सोही कारणले पनि महर्जनको जित सुनिश्चित भएको स्थानीय कांग्रेसी नेताहरुले बताएका छन् ।
स्मरणीय छ, विगतको तुलनामा गोदावरी नगरपालिकाका अधिकांश वडामा नेपाली कांग्रेसका वडाअध्यक्षसहित सेट नै निर्वाचित बनेका छन् ।