काठमाडौं । सम्पादक समाज नेपालको माघ २५ गते बसेको बैठकले गोविन्द वियोगी पत्रकारिता पुरस्कार हिमालय टेलिभिजनका समाचार प्रमुख एवम् यक्ष प्रश्नका संचालक राजेन्द्र बानियाँलाई दिने निर्णय गरेको छ ।
यसै गरी बैठकले गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार भने राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्पादक विष्णु प्रसाद नेपाललाई प्रदान गर्ने निर्णय गरेकोछ ।
सम्पादक समाजका संस्थापक अध्यक्ष गोविन्द वियोगीको स्मृतिमा स्थापना गरेको गोविन्द वियोगी पत्रकारिता पुरस्कार प्रत्येक वर्ष दिँदै आइरहेको छ । सम्पादक समाजद्वारा प्रदान गरिने यी पुरस्कारको राशि क्रमश रु. २५,००१÷– र रु. १५,००१÷– रहेको छ ।
सम्पादक समाज नेपालले पत्रकारिता क्षेत्रमा लामो योगदान पु¥याउनु हुने वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्दै आउने क्रममा यस वर्षका लागि सम्पादक समाज सम्मान वरिष्ठ पत्रकारद्वय मल्ल के. सुन्दर, पुरुषोत्तम दाहाल र रेडियो पत्रकारिता लामो योगदान पु¥याउनु हुने सञ्चारकर्मी कृष्णा ताम्राकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष गोविन्द वियोगीको आकस्मिक निधन पश्चात वि.सं. २०६२ सालमा स्थापना भएका यी पुरस्कार र सम्मान हरेक वर्ष गोविन्द वियोगी स्मृति दिवसको अवसर पारेर माघको पहिलो हप्तामा पत्रकारिता क्षेत्रमा योगदान पु¥याउनु हुने स्रष्टाहरुलाई प्रदान गरिँदै आएकोमा कोभिड–१९ का कारण गत वर्ष पुरस्कार र सम्मान कार्यक्रमलाई स्थगन गरिएको थियो ।
यस वर्ष पनि पुसको आधाआधीबाट नै नेपालमा कोभिड–१९ को तेस्रो लहर प्रारम्भ भएकोले निर्धारित मितिलाई परिवर्तन गर्दै कोभिड–१९ को संक्रमण घटेपछि र जिल्ला प्रशासन कार्यालयले भिडभाड नियन्त्रणका लागि जारी गरेको आदेश फिर्ता भएपछि पुरस्कार एवम् सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय सम्पादक समाजले गरेको छ ।
समाजको बैठकले यस वर्षको कार्यक्रम शिवपुरी– ७, सूर्यचौरमा निर्माण भैराखेको आफ्नै भवन गोविन्द वियोगी पत्रकारिता अध्ययन केन्द्रको सभाकक्षमा आयोजना गर्ने समेत निर्णय गरेको छ । बैठकले निर्माण कार्यमा कुनै अवरोध नआएमा संस्थापक अध्यक्ष वियोगीको अर्ध कदको सालिक सहितको भवनको उद्घाटन, पुरस्कार एवं सम्मान कार्यक्रम एकै दिन गर्ने समेत निर्णय गरेको छ ।