नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठूलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यसपटक इतिहासमै ठूलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो ।
इतिहासकै ठूलो बाढी आउँदा पनि यसपटक गैँडाकोटको वडा नं २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पुर्याउन नसकेको स्थानीय बताउँछन् ।
नारायणी पुलभन्दा उत्तरतर्फ नदीकिनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको थियो । पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदीकिनारमा ठूलाठूला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदीकिनारको बस्ती जोगिएको बताए।
‘नदीकिनारमा ठूलाठूला ढुङ्गा राखिएको छ, जसले हामीलाई जोगायो’, उनले भने, ‘ढुङ्गा नाघेर नदीको छाल घरसम्म आएको थियो, यो ढुङ्गा नहालेको भए हाम्रो धेरै क्षति हुने थियो ।’
बाढीले कटान गर्ने क्षेत्रमा निर्माण गरिएको तटबन्धका कारण बस्ती जोगिएको छ । यस्तै, कटान पनि रोकिएको परियारको बुझाइ छ । बाढी आउँदा जोखिमपूर्ण अवस्थामा रहने नदीकिनारका बस्ती तथा खेतीयोग्य जमिन सुरक्षित पार्न गरिएको तटबन्धले जिल्लाका धेरै बस्ती जोगाएको छ ।