काठमाडौं, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले उठाउँदै आएका माग सम्बोधन गर्न पदाधिकारी बैठक बोलाइसकेपछि अनपेक्षित निर्णय आएको उनले बताए ।
“उहाँले राजीनामा दिनुभयो भन्ने सामाजिक सञ्जालबाट थाहा पाएँ । हामी दुईबीचमा कुराकानी भएर समस्या कसरी समाधान गर्ने अथवा उहाँले उठाउनुभएको कुरालाई सम्बोधन गरेर जाने भन्ने विषयमा, हामीबीचमा भएको सहमतिलाई कार्यान्वयन गरेर जाने सन्दर्भमा पदाधिकारी बैठक समेत बोलाइसकेपछि यस प्रकारको अनपेक्षित निर्णय आउनु उहाँको राजनीतिक भविष्य र हामी सबैका लागि समेत दुर्भाग्पूर्ण हो,” उनले बाह्रखरीसित भने ।
उनले थापाको पार्टी परित्यागबाट विचलित नहुन नेता–कार्यकर्ताहरूलाई आग्रह समेत गरे । थापाले आफ्ना माग पूरा नभएको भन्दै आज पार्टी परित्यागको घोषणा गरेका हुन् ।