काठमाण्डाै – सरकारलाई विपक्षी तीन दलले ९ बुँदे ध्यानाकर्षण गराएका छन् । विपक्षी दलले सुकुम्वासी तथा अव्यस्थित बस्ती हटाउनेदेखि ट्रेड युनियन खारेजी गर्ने सरकारकाे तयारीकाे विराेध गरेका हुन् ।
एमाले राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दङ्गालको अध्यक्षतामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले आज सिंहदबारमा संयुक्त बैठक गरी सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
विपक्षी दलले काठमाण्डाै उपत्यकासमेत देशका विभिन्न ठाउँमा सुकुम्वासी तथा अव्यवस्थित बसोवासी नागरिकको छानबिन, लगत सङ्कलन र पहिचान नगरी तथा वैकल्पिक आवासको सुनिश्चितता नगरी बस्ती हटाउने कार्य तीव्र पारिएकोप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।
ट्रेड युनियनका गतिविधिमा अङ्कुश लगाउने, नियन्त्रण गर्ने र खारेज गर्ने निर्णयको विरोध गर्दै मजदुर वर्गको पेशागत हकहित र अधिकार सँगसँगै देशको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सङ्गठनहरूलाई खारेज गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन उनीहरूले माग गरेका छन् ।