कर्णालीमा फेरियो दलहरूको पोजिसनः समानुपातिकमा रास्वपा दोस्रो हुँदा एमाले, नेकपालाई ठुलो क्षति

5.7k Shares

प्रतिनिधि सभा निर्वाचनले कर्णाली प्रदेशमा दलहरूको राजनीतिक पोजिसनमा बदलाव आएको छ, जसमा रास्वपाको उपस्थिति उल्लेखनीय रह्यो।
एमालेलाई ठुलो क्षति पुगेको छ भने कांग्रेसले समानुपातिकतर्फ कर्णालीमा पहिलो स्थान हासिल गरेको छ।
रास्वपाले सुर्खेत, सल्यान र दैलेख जस्ता जिल्लाहरूमा राम्रो उपस्थिति जनाएको छ, तर ग्रामीण क्षेत्रमा प्रभाव विस्तार हुन बाँकी छ।
सुर्खेत । गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनले कर्णाली प्रदेशमा दलहरूको राजनीतिक पोजिसनमा बदलाव आएको छ ।

सधैँ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) बिच पहिलो शक्ति हुने होडबाजी चल्ने गरेकोमा यो पटक नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जबरजस्त उपस्थिति देखाएको छ ।

प्रत्यक्षतर्फ देशभर पहिलो शक्ति बन्दा कर्णालीमा रास्वपाले १२ प्रतिनिधि सभा क्षेत्रमध्ये सुर्खेत—२ मामात्र जित्न सक्यो भने अन्य ४ वटा क्षेत्रमा दोस्रो स्थानमा रह्यो ।

समानुपातिकतर्फ भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना दलहरूलाई उछिन्दै रास्वपा दोस्रो स्थानमा आएको छ । रास्वपाले १ लाख ३३ हजार ७४९ समानुपातिक मत प्राप्त गरेको छ ।

०७९ मा १ लाख ८३ हजार १३० मतसहित पहिलो दल बनेको एमाले यो पटक समानुपातिक मतमा तेस्रो नम्बरमा सीमित भएको छ । एमालेले यो पटक १ लाख २० हजार ८६३ समानुपातिक मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ दैलेख—२ मा मात्रै एमालेले चुनाव जित्यो । जबकि कर्णालीमा लोकप्रिय मतका आधारमा एमालेले आफूलाई पहिलो शक्ति भन्दै आएको थियो ।

०७९ मा समानुपातिकतर्फ दोस्रो नम्बरमा १ लाख ८० हजार ९०९ मत पाएको नेपाली कांग्रेस यो पटक दुवैतर्फ पहिलो दल बन्न सक्यो । कर्णालीमा प्रत्यक्षतर्फ ५ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ १ लाख ४१ हजार २३३ मतसहित पहिलो स्थान बनाएको छ ।

तर, कर्णालीलाई आफ्नो आधार क्षेत्र मान्ने नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक स्थान यो पटक चौथोमा सीमित बनेको छ । नेकपाले १ लाख ७ हजार १०१ समानुपातिक मत पाएको छ ।

प्रत्यक्षतर्फ ४ सिटसहित दोस्रो स्थान बनाएको नेकपाले चुनावअघि एकीकृत समाजवादी, माओवादी लगायत कम्युनिस्ट घटक मिलेर पार्टी गठन गर्दासमेत समानुपातिकतर्फ राम्रो मत ल्याउन नसकेको देखियो ।

कर्णालीमा दलहरूले पाएको मत विश्लेषण गर्दा प्रत्यक्षमा एउटा दलले जितेको अवस्था छ भने समानुपातिकमा सोही क्षेत्रबाट अर्को दलले मत धेरै पाएको पनि देखिन्छ ।

यस्तो छ प्रतिनिधि सभा चुनावमा कर्णालीमा दलहरूले पाएको समानुपातिक मत (जिल्लागत)

क्षेत्रगत रूपमा नेकपा एमालेलाई ठुलो क्षति

१० जिल्ला रहेको कर्णालीमा यो चुनावमा सबैभन्दा धेरै क्षति बेहोर्ने दल एमाले हो । रुकुम पश्चिममा त एमाले भन्दा प्रगतिशील लोकतान्त्रिक पार्टीले समानुपातिक मत धेरै पाएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताभन्दा केही दिनअघि गठन भएको थियो ।

प्रलोपाले ७ हजार २०२ मत पाउँदा एमालेले जम्मा ५ हजार ८४७ मत पाएको छ । जबकि रास्वपाले समेत यहाँ १० हजार १४९ मतसहित तेस्रो स्थान बनाएको छ ।

यस्तै जुम्लामा पनि एमालेलाई ठुलो क्षति भएको छ । यहाँ राप्रपाले एमालेको भन्दा धेरै मत पाएको छ ।

जुम्लामा प्रत्यक्षतर्फ राप्रपाका ज्ञानेन्द्र शाही निर्वाचित हुँदा समानुपातिकतर्फ उनको दलले ६ हजार ५५२ मतसहित तेस्रो स्थान हासिल गरेको छ । एमाले ६ हजार २९ मतसहित चौथो स्थानमा छ । यहाँ रास्वपाले ५ हजार ११८ मत पाएको छ । प्रत्यक्षतर्फ पराजित भए पनि नेपाली कम्युनिस्ट पार्टीले जुम्लामा पहिलो स्थानमा समानुपातिक मत पाएको छ भने कांग्रेस दोस्रोमा छ ।

रास्वपाको बलियो उपस्थिति भएका जिल्ला

सुर्खेत, सल्यान, दैलेखजस्ता जिल्लामा रास्वपाले उपस्थिति बलियो बनाएको छ ।

एमाले—कांग्रेसको बलियो किल्ला मानिएको सुर्खेतमा सम्रग रूपमा रास्वपाले ५४ हजार २२६ मतसहित समानुपातिकतर्फ शीर्ष स्थान बनाएको छ ।

क्षेत्रगत रुपमा सुर्खेत—१ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेसले चुनाव जित्दा सुर्खेत—२ मा रास्वपाले दुवैतर्फ ‘क्लिन स्वीप’ ग¥यो ।

यस्तै सल्यानमा प्रत्यक्षतर्फ दोस्रो नम्बरमा मत पाएको रास्वपाले समानुपातिकतर्फ ३३ हजार ६९९ मतसहित पहिलो स्थान ओगट्न सफल भयो । अघिल्लो पटक यहाँ एमालेले धेरै मत पाएको थियो । रास्वपा हिमाली जिल्लामा फैलिन नसके पनि प्रतिस्पर्धामा आएको छ ।

वरिष्ठ पत्रकार प्रकाश अधिकारीका अनुसार कर्णालीको अधिकांश भूभाग ग्रामीण भएकाले रास्वपाको प्रभाव त्यति विस्तार हुन सकेको छैन । यहाँ रास्वपाको उपस्थिति हुन अझै समय लाग्ने उनको भनाइ छ ।

यद्यपि कर्णालीमा पहिलो पटक नै प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ दोस्रो स्थान हासिल गर्नु रास्वपाका लागि ठुलो कुरा भएको सरोकारवाला बताउँछन् ।

अन्य दलले कति पाए समानुपातिक मत ?

चार प्रमुख दल बाहेक कर्णालीमा पाँचौँ नम्बरमा राप्रपाले १५ हजार ७५५ मत पाएको छ ।

यस्तै जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले ८ हजार ५३७, विप्लव नेतृत्वको माओवादीले ५ हजार ९३६ मत पाउँदा कुनै बेलाको प्रमुख राजनीतिक शक्तिका रूपमा रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ५ हजाार १३० मत पाएको छ ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ४ हजार ६५७, जसपाले १ हजार २४७, सार्वभौम नागरिक पार्टीले १ हजार ५३, जनता संरक्षणले १ हजार ३४, जनमोर्चाले ९५७ मत पाएका छन् । 

सम्बन्धित समाचार