जुम्ला, २३ पुस । जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेकोे पाइएको छ । चालू आर्थिक वर्षको हालसम्म १२५ जना महिलाको नाममा जग्गा पास भएको पाइएको हो । चालु आर्थिक वर्षमा ८६० वटा लिखत हुँदा त्यसमा १२५ जना महिलाको नाममा लिखत पाएको भएको जिल्ला मालपोत कार्यालय जुम्लाले जनाएको छ ।
जुम्लाका सातवटा गाउँपालिकाका ५४ जना र नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्रबहादुर रोकायाले बताए । उनले भने, ‘गाउँपालिकाभन्दा नगरपालिका भित्रका महिलाहरूको नाममा बढी जग्गा रजिस्ट्रेशन भएको तथ्याङ्क छ ।’
पछिल्लो समयमा सरकारले नै महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजश्व छुट् दिने प्रवधान ल्याएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको हो ।
राजश्वमा छुट हुने भएकाले सम्पतिमा महिलाको पहुँच बढ्दो क्रममा रहेको पाइएको छ । कार्यालय प्रमुख रोकाया भन्छन्, ‘महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा १० लाख ७३ हजार ८३५ रुपैया राजश्वमा छुट भएको छ । नगरपालिका भित्रका ७१ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन हुँदा ९ लाख ४२ हजार १६१ र गाउँपालिका भित्रका ५४ जना महिलाको नाममा जग्गा रजिस्टेशन हुँदा एक लाख ३ हजार राजश्वमा छुट्भएको छ ।
दलित र अपांगता भएका व्यक्तिलाई २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिस्ट्रेशन गर्ने दलित समुदाय र अपांगता भएका व्यक्तिले राजश्वमा २५ प्रतिशत छुट दिने प्रवधान रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ३१ जना दलितका नाममा जग्गा रजिस्टे«शन हुँदा उनीहरूले २५ प्रतिशत राजश्वमा छुट पाएका छन् ।
सात वटा गाउँपालिका भित्रका ३१ जना दलित समुदायले आफ्नो नाममा जग्गा रजिस्ट्रेशन गर्दा ३१ हजार २७३ र नगरपालिका भित्रका १२ जना दलितले जग्गा रजिस्ट्रेशन गर्दा ६० हजार २७ रुपैयाँ राजश्वमा छुट भएको कार्यालय प्रमुख रोकायाले बताए । उनका अनुसार २५ प्रतिशतका दरले जम्मा ९१ हजार ३०० रुपैयाँ दलित समुदायले राजश्वमा छुट भएको छ ।
उनले भने, ‘मालमोत कार्यालय जुम्लाको सेवा सुधारोन्मुख अवस्थामा छ । जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोत कार्यालय जुम्लाले सेवा प्रवाहलाई छिटोछरितो बनाउन तर्फ लागेका छौँ ।’ चालु आर्थिक वर्षको हालसम्म ८३० वटा लिखत (राजीनामा) पास भएको निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताए ।
९९ लाख बढी राजश्व संकलन
पुँजीगत लाभकरतर्फ ३१ लाख १८ हजार ८८३ रुपैयाँ संकलन भएको छ । रोकायाका अनुसार विविध तर्फ ८७ हजार ३६६ रुपैयाँ राजश्व उठेको छ । कार्यालयको लक्ष्यभन्दा बढी पहिलो चौमासिकमा राजश्व संकलन भएको पाइएको छ ।