सिराहा – सिराहा जिल्ला पछिल्लो समय अबैध हुण्डी कारोबारको केन्द्र बन्दै गएको देखिन्छ। सीमा क्षेत्रमा बारम्बार पक्राउ परिरहेका ठूलो परिमाणका स्रोत नखुलेका नगद, तस्करीसँग जोडिएका घटनाहरू र सुरक्षा निकायको निरन्तर कारबाहीले यस तथ्यलाई उजागर गरिरहेका छन्। खुला नेपाल–भारत सीमा, आर्थिक अभाव, बेरोजगारी र कमजोर वित्तीय सचेतनाका कारण सिराहा जिल्लाका सीमावर्ती क्षेत्रहरू हुण्डी कारोबारीका लागि सुरक्षित गन्तव्यजस्तै बन्दै गएका छन्।
हालै मात्र सिरहामा भएको एक घटनाले यस समस्याको गम्भीरता पुनः सतहमा ल्याएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय ईनर्वा, सिरहाबाट खटिएको टोलीले भगवानपुर गाउँपालिका–४ राडीस्थित दशगजा इलाका नजिक मुख्य सीमा स्तम्भ नम्बर २४६ आसपास चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा एक युवकलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–३ मरिकटोल निवासी २४ वर्षीय देवनाथ यादव रहेका छन्।
सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख ३ हजार ९ सय ९० नगद, एक थान मोटरसाइकल र एक थान मोबाइल फोन बरामद गरिएको हो। नियन्त्रणमा लिइएका व्यक्ति तथा बरामद सामग्री आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
हेर्दा यो एउटा सामान्य पक्राउजस्तो देखिए पनि यस घटनाले सिराहामा फैलँदै गएको अबैध हुण्डी कारोबारको गहिरो जरा र संरचनागत समस्यालाई संकेत गर्दछ। पछिल्लो केही वर्षयता सिराहा जिल्लाका विभिन्न नाका र दशगजा क्षेत्रबाट पटक–पटक लाखौँ रुपैयाँ बराबरको स्रोत नखुलेको नगद बरामद हुँदै आएको छ। यी घटनाहरूले सिराहा अबैध आर्थिक कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको आशंका बलियो बनाएका छन्।
हुण्डी कारोबार भन्नाले बैंक तथा वित्तीय संस्थाको औपचारिक प्रणालीबाहिर रहेर गरिने रकमको अवैध लेनदेनलाई जनाउँछ। यसमा न त कुनै लिखित प्रमाण हुन्छ, न त राज्यले कर प्राप्त गर्छ। सामान्यतः एक ठाउँमा पैसा बुझाइन्छ र अर्को ठाउँमा संकेत, कोड वा फोनमार्फत रकम उपलब्ध गराइन्छ। नेपाल–भारत जस्ता खुला सीमा भएका मुलुकहरूमा यस्तो कारोबार सहज हुने गरेको छ।हुण्डी कारोबार गैरकानुनी मात्र होइन, यसले मुलुकको आर्थिक प्रणालीलाई कमजोर बनाउने, कालोधनलाई वैधजस्तै बनाउने र आपराधिक सञ्जाललाई सशक्त बनाउने काम गर्छ। तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन तथा अन्य संगठित अपराधसँग यसको प्रत्यक्ष सम्बन्ध रहने सुरक्षा निकायको निष्कर्ष छ।
विशेषज्ञहरूका अनुसार सिराहामा हुण्डी कारोबार फस्टाउनुका पछाडि विभिन्न कारण रहेका छन्।पहिलो, खुला सीमा। सिराहा भारतसँग जोडिएको सीमावर्ती जिल्ला हो। सीमा क्षेत्रमा साना बाटो, खेत–खलियान र दशगजा क्षेत्रमार्फत सहज आवतजावत हुने भएकाले निगरानी चुनौतीपूर्ण बनेको छ।दोस्रो, सामाजिक र पारिवारिक सम्बन्ध। सीमापार दुवैतर्फ बसोबास गर्ने परिवारबीच गहिरो सम्बन्ध हुँदा रकम ओसारपसार सहज हुन्छ।तेस्रो, बेरोजगारी र गरिबी। जिल्लामा रोजगारीका अवसर सीमित छन्। छिटो र सजिलो पैसा कमाउने प्रलोभनमा परेर युवा पुस्ता हुण्डी कारोबारमा प्रयोग हुने गरेको पाइन्छ।चौथो, वैदेशिक रोजगारी र रेमिटेन्स। विदेशबाट आउने रकम औपचारिक माध्यमभन्दा छिटो र सस्तो तरिकाले ल्याउने चाहनाले पनि हुण्डीलाई प्रोत्साहन दिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सार कार्यालयले सिराहामा अबैध हुण्डी नियन्त्रणका लागि नियमित चेकजाँच र गस्ती बढाएका छन्। पछिल्लो समय बरामद रकमको परिमाण बढ्नुले सुरक्षा निकायको सक्रियता पनि देखाउँछ। तर खुला सीमा, सीमित जनशक्ति र स्रोतका कारण सबै गतिविधि नियन्त्रणमा लिन चुनौती कायम छ।
सुरक्षा अधिकारीहरूका अनुसार पक्राउ परेका व्यक्तिहरू प्रायः ‘क्यारियर’ मात्र हुने र वास्तविक हुण्डी सञ्जाल पर्दामुनि नै रहने समस्या छ। ठूला कारोबारीहरू पहिचान गर्न गहिरो अनुसन्धान र अन्तरदेशीय समन्वय आवश्यक पर्ने उनीहरूको भनाइ छ।नेपालको प्रचलित कानुनअनुसार स्रोत नखुलेको नगद राख्नु, ओसारपसार गर्नु र हुण्डी कारोबार गर्नु दण्डनीय अपराध हो। बरामद नगद र सामग्री भन्सार कार्यालयमार्फत राजस्व अनुसन्धान तथा अन्य निकायमा पठाइन्छ। तर व्यवहारमा अनुसन्धान प्रक्रिया लामो हुनु, प्रमाण जुटाउन कठिनाइ हुनु र कहिलेकाहीँ प्रभावशाली व्यक्तिको संलग्नताले मुद्दा कमजोर बन्ने गरेको गुनासो पनि सुनिन्छ।
अबैध हुण्डी कारोबारले राज्यलाई मात्र होइन, समाजलाई समेत दीर्घकालीन क्षति पु¥याउँछ। राज्यले पाउनुपर्ने कर राजस्व गुम्छ, कालोधन बढ्छ र आपराधिक गतिविधि मौलाउँछ। सबैभन्दा चिन्ताजनक पक्ष भनेको युवा पुस्ता सजिलो पैसाको लोभमा गलत बाटोमा फस्नु हो।
विशेषज्ञहरू सिराहामा बढ्दो हुण्डी कारोबार नियन्त्रणका लागि दीर्घकालीन र समन्वित रणनीति आवश्यक रहेको बताउँछन्। सीमा निगरानीलाई प्रविधिमैत्री बनाउने, स्थानीयस्तरमा वित्तीय सचेतना अभियान सञ्चालन गर्ने, युवालाई रोजगारी र उद्यमशीलतामा जोड्ने तथा नेपाल–भारतबीच सुरक्षा सहकार्य मजबुत बनाउने सुझाव दिइन्छ।
देवनाथ यादवको पक्राउ एउटा व्यक्तिगत घटना मात्र होइन, यो सिराहा जिल्लामा मौलाउँदै गएको अबैध हुण्डी कारोबारको प्रतिनिधि उदाहरण हो। यदि समयमै प्रभावकारी नियन्त्रण र सुधारात्मक कदम चालिएन भने सिराहा मात्र होइन, समग्र मुलुक नै यस समस्याको चपेटामा पर्न सक्छ। अबैध आर्थिक गतिविधिविरुद्ध राज्य संयन्त्र, सुरक्षा निकाय र नागरिक सबैको साझा प्रयास अपरिहार्य देखिन्छ।