देवगुरु बृहस्पति

6.9k Shares

डा. स्वामी सत्यव्रत

मनुष्य जन्म आफैंमा विलक्षण घटना हो। मोक्षको अवधारणा मनुष्य जन्मबाट मात्र सम्भव छ। प्रत्येक मनुष्यभित्र सत्वगुण, रजोगुण र तमोगुण विद्यमान हुन्छन्। चाहे त्यो देवगुरु होस् वा दैत्य गुरु, फरक यत्ति हो कि कुन गुणको मात्रा बढी छ वा कुन गुणको प्रबलता छ। स्वयंदेखि स्वयंसम्मको यात्रा गर्नु नै देवगुरु बन्नु हो। यदि यसो भयो भने यो धर्ती स्वर्ग र यस धर्तीका मनुष्यहरू देवता हुनेछन्।

देवगुरु बृहस्पति सृष्टिकर्ता ब्रह्माका नाति, अङ्गिरा ऋषि र श्रद्धाका छोरा हुन्। उनलाई देवताका गुरु हुने श्रेणी पनि आफ्ना पुर्खाहरूको आशीर्वादले प्राप्त भएको हो। गुरु भनेको अन्धकारदेखि प्रकाशतिरको यात्रा गराउने व्यक्तित्व भन्ने बुझ्नु पर्दछ। जसले बिना सर्त तमसोमाज्योतिर्गमय तर्फको यात्रा गराउँछ, त्यो नै गुरु हो।

पौराणिक कथन होस् वा शास्त्रीय आधार, दुबैमा हेर्दा देवगुरु बृहस्पति र दैत्य गुरु शुक्राचार्यको बीचमा केही हदसम्म द्वन्द्व भएको देखाइएको छ। वास्तविकता के हो भने कहिले काहीँ जे देखिन्छ त्यो सत्य नहुन पनि सक्छ।

दिन र रात, सुख र दुःख, प्रकाश र अन्धकार, देवता र दैत्य, जीवन र मृत्यु, विष र अमृत, सत्य र असत्य एक आपसमा विरोधी जस्ता लाग्छन् र यसलाई धेरैले स्वीकारेका पनि छन्, तर यो सापेक्ष सत्य मात्र हो। शाश्वत सत्य यी सबै एक आपसका विरोधी नभई परिपूरक हुन्। एकको अभावमा अर्कोको कुनै अस्तित्व नै रहँदैन। आ–आफ्नो ठाउँमा सबै ठीक नै छन्, सबैको आफ्नो महत्त्व र अस्तित्व छ।

दवमुखको अर्थ द्रष्टा भाव पनि हो, जो त्यस स्थितिमा पुगेको छ, त्यस्तो व्यक्तित्व यी सबैको साक्षी हुन्छ।

अलिकति पौराणिक आधार हेर्दा विष्णु पुराणका अनुसार कश्यप ऋषिले दक्ष प्रजापतिका १३ ओटी छोरीहरूसँग विवाह गरेका थिए र त्यसपछि पनि उनले ८ ओटी अरू पत्नी पनि विवाह गरेका थिए। यिनै कश्यप ऋषिका पत्नीमध्ये दितिबाट दैत्य र अदितिबाट देवता जन्मिएका हुन्। अब विषय वस्तुतिर प्रवेश गरेर हेर्न हो भने इशोपनिषद्को तेश्रो श्लोकानुसार -

असुर्या नाम ते लोका अन्धेन तमसावृताः ।
तांस्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ॥

अज्ञानमा अर्थात् अन्धकारमा रहने दैत्य र ज्ञानमा अर्थात् प्रकाशमा रहने देवता भनिएको छ । जसलाई अन्धकारमा रहने बानी परेको छ, उसलाई प्रकाश मन पर्दैन । देवगुरु बृहस्पतिलाई ज्ञानका गुरु, प्रकाशका गुरु, देवताका गुरु, आध्यात्मिक द्रष्टा र मार्गदर्शक पनि भनेर चिन्न जरूरी छ । देवगुरुलाई विवेकका प्रतीकका रूपमा पनि लिइन्छ । भौतिक रूपमा हेर्दा मन्त्रीहरूको सर्वश्रेष्ठलाई प्रधानमन्त्री चयन गरे जस्तै देवताहरूबाट नै देवगुरु हुने हो । गुरु बन्नका लागि, भगवान् बन्नका लागि ६ ओटा गुणहरू हुन जरूरी छ । देवगुरु बृहस्पतिको देशना के हो भने सबैभित्र देवत्व छ, त्यसलाई साक्षात्कार गरेर देवतुल्य जीवन जिउनु पर्दछ:

१) विद्वान्, २) बलवान्, ३) रूपवान्, ४) धनवान्, ५) प्रसिद्ध, ६) त्यागी ।
यदि कुनै पनि व्यक्तिमा यी ६ ओटै गुणहरू छन् भने उसले आफैँलाई गुरुको स्थानमा राख्दा पाप लाग्दैन । किनकी हाम्रो समाजमा पुजारी बन्न सक्छौ, पुजक बन्न सक्दैनौ भन्ने दासता प्रवृत्तिले छोडेको छैन । यसलाई तोड्नु जरूरी छ, त्यसैले आरक्षण र संरक्षण होइन, साक्षर हुनु जरूरी छ । अध्यात्म र भौतिकतालाई सँगसँगै लैजानु जरूरी छ । अज्ञान र ज्ञानलाई सँगसँगै लैजानु जरूरी छ, देवत्वले भौतिकतालाई अज्ञान भनेको छ तर जीवन चलाउन भौतिकता चाहिन्छ । अज्ञानले जीवन चल्छ तर जीवन रूपान्तरण हुँदैन ।
देवगुरु बृहस्पतिको बारेमा सबैले बुझ्ने भाषामा केही पक्षहरूबाट जान्न र बुझ्न जरूरी छ -

१) पौराणिक महत्त्व:

क) गुरुको रूपमा भूमिका: अभ्यास ज्ञान भएकालाई पण्डित भनिन्छ भने विवेक ज्ञान भएकालाई देवगुरु भनिन्छ । देवगुरु बृहस्पतिले देवताहरूलाई धर्म र अधर्मको बारेमा ज्ञान प्रदान गरी मार्ग प्रशस्त गर्नु हुन्छ । धर्ममा देवताहरू हिँड्छन् भने अधर्ममा दैत्यहरू । त्यसैले देवगुरु बृहस्पतिले करूणामयी सन्तहरूलाई छानेर सत्य, बौद्धिकता र विवेकयुक्त व्यक्तित्वहरूलाई देवताको तहमा राख्ने काम गर्नुहुन्छ। देवगुरु बृहस्पतिले पहेँलो गाउन लगाएर एक हातमा पुस्तक र एक हातमा माला लिएर प्रस्तुत हुनुहुन्छ, जुन आफैँमा पवित्र मानिन्छ। यस्तो उपस्थिति ज्ञान र उदारताको प्रतीक हो।

२) पौराणिक कथन :

क) शुक्राचार्यसँग विवाद : शास्त्रसम्मत मान्यतालाई हेर्दा देवगुरु र दैत्यगुरु बीच बेला बेलामा विवाद भएको पनि पाइन्छ तर यसलाई सामान्य रूपमा लिइएको पाइन्छ। कुनै पनि शास्त्रसम्मत मान्यतामा आफ्नो स्वविवेकको पनि प्रयोग हुनु पर्दछ भन्ने मान्यता राख्दछु। अस्तित्वगत रूपमा राम्रो र नराम्रो, सत्य र असत्य, साँचो र झूठो बीच भएको संघर्षलाई यसले इङ्गित गरेको छ। यसलाई सहज रूपमा दुबैको अस्तित्वलाई स्वीकार्नुको विकल्प छैन। देवगुरु बृहस्पति र दैत्यगुरु शुक्राचार्य दुबै अद्भुत क्षमताका धनी र आदरणीय नै छन्। बृहस्पतिको श्रीमती तारा हुन्, देवगुरु बृहस्पति र ताराबाट अति बुद्धिमान् देवता बुधको जन्म भएको प्रसङ्गलाई पनि नजरअन्दाज गर्न सकिन्न।

ख) देवगुरू बृहस्पतिको पूजा किन गर्ने : विवेक, समृद्धि, सुरक्षा, आध्यात्मिक ज्ञान र शुभलाभका प्रतीकका रूपमा सनातनीहरूले देवगुरु बृहस्पतिलाई लिएका छन् र उनको पूजा आराधना गर्दछन्। यसका लागि बिहिबारलाई उत्तम मानिएको छ। यसदिन भक्तहरूले पहेँलो वस्त्र धारण गरेर, पहिले फलफूल लिएर पूजा गर्दछन्। आराधना गर्ने गर्दछन्। भक्तहरूले देवगुरु बृहस्पतिको ऊँ ग्राम, ग्रीम, ग्रम, सः गुरूवे नमः भन्ने बीज मन्त्रको पाठ गरी उक्त मन्त्रलाई कवचको रूपमा लिने गरेको पाइन्छ। यो उनीहरूको विश्वास हो। यसो त ऋग्वेदमा पनि देवगुरु बृहस्पतिलाई देवता र भगवान्‌को पुजारी भनिएको छ। भनिन्छ नि भगवान् भक्तहरूको पनि भक्त हुनुहुन्छ, यस्तै प्रतीकका रूपमा यसलाई लिइएको छ। यो मन्त्र पाठ गर्नाले हानीकारक तत्वहरूलाई कम गरी आशीर्वाद लाभ हुन्छ भनिएको पाइन्छ।

यसका बावजुद पनि देवगुरु बृहस्पतिको आफ्नो छुट्टै मन्दिर छैन र नवग्रहसँग बृहस्पतिको पनि पूजा अर्चना गरिन्छ।

३) खगोलीय र ज्योतिषीय महत्त्व:

क) ग्रह सम्बन्ध : आकाशगंगाको सबैभन्दा ठूलो ग्रहको रूपमा बृहस्पतिको स्थान छ। बृहस्पतिलाई खगोल विज्ञान र हिन्दू सनातन वैदिक ग्रन्थहरूको मान्यतानुसार शाश्वत सत्य, लाभ, विशालता, विवेक, आत्मज्ञानीको विशेषता दिइएको छ। मानिसको चिन्ह वा राशीमा जब बृहस्पति बस्छ, त्यस व्यक्तिको लागि सबै लाभ हुन्छ भनिएको छ।

देवगुरु बृहस्पति सकारात्मक ऊर्जा, उन्नति, प्रगति, समृद्धि, सद्गुण, सत्वगुण, आत्मिक यात्रा सबैको प्रतीकका रूपमा हुनुहुन्छ। तपाईंभित्र पनि त्यो शाश्वत सत्ता छ। त्यसलाई आत्मसात गर्न सक्नुभयो भने देवगुरु बृहस्पतिप्रतिको सच्चा भक्ति हुने छ।
सबैको कल्याण होस्।

(डा. स्वामी सत्यव्रत (चन्द्र बहादुर खत्री), संस्थापक अध्यक्ष: सेफ सेन्टर, थानकोट, चेकपोस्ट।)

सम्बन्धित समाचार