विष्णुबहादुर खड्का
आदिम कालदेखि हिमवत्खण्डमा बसोबास गर्ने खस जातिहरूका विभिन्न थर गोत्र भए पनि कुलदेवताका रूपमा मष्टो देवतालाई मान्दै आएका छन्। यसैगरी आज पर्यन्त खस जातिले मान्दै गरेका मष्टो देवताको बसाई सराइसँगै आफ्ना कुलायन मष्टोलाई साथसाथै लिएर कुनै न कुनै रूपमा पूजा गर्ने गरेको पाइन्छ। विशेष गरी कर्णाली आसपास टिष्टादेखि कागडा पूर्वको भूभागमा बसोबास गर्ने सबै जातजातिहरूले मष्टो देवतालाई कुल देवताका रूपमा भव्यताका साथ पूजाआजा गरी मनाउने गरेको देखिन्छ।
नेपालमा गैह्र खसहरूले पनि गाउँ समाजको रीतिरिवाज, धर्मसंस्कृति र सामाजिक सम्बन्धको आधारमा विधि विधान फरक गरिए पनि मष्टो देवताको महनी अर्थात् मंसिरे एवम् जेठासे पूर्णिमाकै दिन भव्य चाडका रूपमा आआफ्नै विधिबाट कुनै न कुनै रूपमा मान्ने वा पूजा गर्ने चलन पाइन्छ।
मष्टो पूजनबाट सोचेको अथवा इच्छाइएको मागहरू पूरा हुने र समस्याहरू टुंगो लाग्ने पूर्ण विश्वास गरिएको पाइन्छ र यथार्थमा त्यो सत्य पनि हो।
खस समुदायहरू बसाई सराई, बन्द व्यापार, नोकरी आदिका लागि मष्टो देवतालाई धजा हान्ने वा भाकल गरी सोचेको वा आटेको काम सफल होस भनी माग्ने गर्दछन्। उक्त पूकार पूर्ण भएमा मष्टो देवताको महनीमा भाकल बमोजिम मिर (बोको) बलि चढाइन्छ। घाँटघण्ट र धन द्रव्य समेत चढाइन्छ। मष्टो देवताका साथमा स्थानीय देवदेउता, थानी मण्डली, भूइयार आदि समेतलाई पूजा गर्ने गरिन्छ। आआफ्नो परिवार, समूह र समूहको बीचमा पूजारी र धामी पनि हुन्छन्। यी पूजा विधि स्थान अनुसार केही फरक पनि देखिएको छ। यसलाई सत्य तथ्य पत्ता लगाई खोज अनुसन्धानपछि एकरूपता ल्याउन सके मष्टो देवताबाट प्राप्त हुने शक्तिमा अझ मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।
मष्टो कुलायनको पूजा विधि वैदिक एवम् सांस्कृतिक परम्परा बमोजिम धामी पूजारी र बाहुनहरू समेतबाट सम्पन्न गरिनु पर्दछ। कुल पूजामा विशेष गरी गाईको दूध, चामलको पीठो वा चामल, रोटी, खीर र वलिको लागि सकभर निख्खर कालो वा रातो बोका चाहिन्छ।
ठाउँ विशेष अनुसार हाल पूजा विधि केही फरक रहेको पनि देखिन्छ। यसैगरी मष्टो देवताको नाम पनि अनेकथरि राखेको पाइन्छ। यी एकै मष्टो देवका अनेक अवतार वा रूपहरू हुन्। मूलरूपमा मष्टो देव दूधे र दाह्ने दुइटा भेद गरेको पाइन्छ। मष्टो देवको मूर्ति वा रूप हालसम्म पाइएको छैन। स्वयम् मष्टो देवका धामी, पूजारी आदिबाट भनिए अनुसार शिलाहरूलाई मष्टो देवको रूपमा उल्लेख गरेको पाइन्छ।
कुशाभट्टको फागले पनि ईन्द्र पुत्र जयन्त फटकशिलाका रूपमा अवतरित भएको वर्णन गरिएको छ। मष्टो देवताका बारेमा सत्य तथ्य बुझ्न र जान्न त्यति सजिलो देखिदैन। यसका आफ्नै नीति नियमहरू छन्। मुख्यतया धामीसँग चल्न बुझ्न सक्ने क्षमता वा मष्टो देवताको कृपा प्राप्त भक्तहरूले मात्रै सबै कुरा जान्न बुझ्न र बुझाउन सक्दछन्। धामीले बोल्ने भाषा वा शब्द साधारणतया हामीले बोलचाल गर्ने भाषा शब्दावलीभन्दा विशेष हुन्छ। यी भाषालाई आआफ्नो स्थान अनुसार बोलचालमा आए अनुसार हुन्छ तर पश्चिम नेपालको हुनेले भने बुझ्न सक्दछ। प्रत्यक्ष अनुभव अनुसार पंक्तिकारले आफ्नो पिता धामी पूजारी स्व. प्रेमलाल खड्काबाट सुनेजाने अनुसार कम्पन आएको बेला यहाँ उल्लेख भए जस्तो भाषा शब्दहरू प्रत्यक्ष रूपमा सुन्न बुझ्न सकिएको र उहाँको अवसानपछि स्वयं पूजारी धामीका रूपमा जिम्मेवारी पाएकोले दैवी भाषा र कम्पन चलेको बेलाको बोली सहजै बुझ्न सक्ने अनुभव छ। धामी पूजारी नियुक्ति वा बन्नका लागि परम्परागत रूपमा जेठाघरको जेठा छोरामा यो जिम्मेवारी हस्तान्तरण हुने प्रचलन छ।
पंक्तिकारलाई अनुभव भएसम्म र आफ्नो कुल सन्तानले एक वर्ष विराएर मंसिरे पूर्णीको अघिल्लो चतुर्दशीको दिनमा चोखोनितो गरी स्वस्तिक अभिषेक गराई पूजागर्ने चलन रहेको छ। यसमा केही कुल घरानाहरूले बैशाखे पूर्णिमा र अष्टमी तिथिका दिनमा पनि पूजा गर्ने प्रचलन देखिएको छ। मष्टो कुलायन देवता मूल पूजारीको घरमा वा गुवौरोमा विराजमान हुने र प्रत्येक वर्ष विराएर (ती वर्ष) नजिकको कूलदेव माडुमा माथि उल्लेख गरिए बमोजिम पूजारीबाट दीयो वत्ती सहित देउता लैजाने र दायाँ बायाँ भाइ भैयादहरू हातहतियार सहित अघिपछि लागि महनी स्थल अथवा कुलायन पूजाघर जसलाई मष्टो माहुँ भित्र पूजा आराधना गर्ने र बाहिर बाहुनद्वारा यज्ञ गर्ने गरिन्छ।
पूजामा सहभागी भाइभैयादहरूबाट जेष्ठताको आधारमा आआफ्नो चुलोमा चोखोनितो गरी प्रसादका लागि रोटी पकाउने र सबैबाट संकलित दूधबाट खीर पकाई कुलदेवतालाई भोग लगाउने र अन्य मष्टो बाहेकका देव देउता भूई भयार थानी मण्डली समेतलाई धारधूप सहित भोग चढाउने पनि गरिन्छ। पूजाको महत्वपूर्ण अर्थात विशेष कार्य भनेको बोका बलि दिन नै मानिन्छ। यसमा पहिले सामूहिक रूपमा एउटा बोका चढाइन्छ र त्यसपछि जेष्ठताको आधारमा बलि शुरु हुन्छ।
भित्र माण्डुमा पूजारीले पूजा सँगसँगै बाहबाहिर बाहुनले हवन पाठ सकेपछि पूजाबिधि पूर्ण हुन्छ र भाइभैयाद, छोरीछोरा, इष्टमित्र समेतलाई फूल, प्रसाद, धजा, अक्षता वितरण गरेपछि पुनः पूजारीले दीयोक्त्ती सहित मष्टो देव तथा देव-देउता घाँटघण्ट आदिलाई मूल घर वा गुफामा फर्काएर विराजमान गराउँछन्। पूजास्थलमा प्रसादी स्वरूप सबै निम्तालुहरूलाई भोजन गराउने प्रचलन पनि रही आएको छ।
मष्टो कुल देवता र खस जातिहरूको एउटा छुट्टै पहिचान रहेको छ। त्यो के भने जुन खस जातिले मष्टो पूजन, भूमि पूजन गर्छ, त्यो अन्य जात जातिहरूमा विरलै पाइन्छ। किनभने कुनै खस जातिले बसाइसराइ वा शुभकार्य थालनी गर्दा पहिलो पितृ देवहरूको पूजा, मष्टो देवको पूजा, थानी मण्डली, भूई भयारको पूजा आदि गरेर मात्र शुभ कार्यको साइत हुने गर्दछ। त्यो मात्र नभई गाई, वस्तुहरूको गोठ सार्दा, खेतीपाती शुरू गर्दा, कुलो, पानी बाँध, पैन समेतको थालनी गर्दा समेत धूमधार गर्ने प्रचलन अझै प्रयोगमा रहेको पाइन्छ।
एउटा रोचक प्रसंग के छ भने जुम्ला लगायतका पहाडी क्षेत्रका बासिन्दाहरू हिउँदको समयमा कमाइका लागि अन्यत्र जाने बेला कुल देवताका नाममा धजा उठाएर राख्ने र नफर्कुन्जेलसम्म रक्षाका लागि तथा बन्द व्यापार सफलताका लागि समेत चढाउने, भाकल गर्ने चलन आज पनि छ। यसैगरी वैवाहिक जीवनमा बाधा भएकाहरूका बालबच्चा नभएमा मष्टो देवतासँग वरदान माग्ने र पूरा भएपछि भाकल अनुसार धन-द्रव्य, फूल, प्रसाद, बोका समेत चढाउने चलन छ।
जय मष्टो!