राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको मात्र उम्मेद्वारी

7k Shares

काठमाण्डौ – प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेद्वारी परेको छ । उहाँको उम्मेद्वारीको प्रस्तावकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा र समर्थकमा नेकपा (एमाले)का सांसद कृष्णगोपाल श्रेष्ठ रहनुभएको छ ।

आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेद्वार मनोनयन गर्ने कार्यतालिका रहेकामा उहाँले दिउँसो ३ बजे मनोनयन दर्ता गराउनुभएको हो । समितिको भोलि बस्ने बैठकमा प्रस्तावकले एक मात्र प्रस्ताव परेको जानकारी दिएपछि उहाँ निर्विरोध भएको घोषणा गर्ने व्यवस्था छ ।

नेतृ न्यौपानेले आजै संसदीय सुनुवाई समितिको सभापतिको पदबाट राजिनामा दिनुभएको हो । कांग्रेसको आजै बसेको पदाधिकारी बैठकले उहाँलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । कांग्रेसकै सांसद रामहरि खतिवडाले निजामती विधेयकमा रहेको कुलिङ पिरियडबारे भएको गडबडीको विवादका कारण सभापतिबाट राजिनामा दिएपछि पद रिक्त थियो ।

सम्बन्धित समाचार