काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसभन्दा नेकपा एमाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) जस्ताको त्यस्तै पास हुनुपर्छ भन्नेमा बढी पक्षधर रहेको आरोप लगाएका छन् ।
काठमाडौँमा बुधवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी जस्ताको त्यस्तै हुनुपर्छ भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा भन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झनै कडा पाएको बताएका हुन् ।
एमसीसी जस्ताको त्यस्तै पास गर्न दिनु हुँदैन भनेर एमालेसँग छलफल गर्दा कांग्रेसभन्दा बढी पक्षधर रहेको पाएको उनको भनाई छ । उनले एमसीसी जस्ताको त्यस्तै पास हुन नदिनका लागि कांग्रेस र एमालेसँग बारम्बार छलफल गर्दा पनि सहमति नजुटेपछि मन नलागी नलागी एमाले नेतृत्वसँग छलफलका लागि आफूहरू गएको स्मरण गरे ।
प्रचण्डले भने, ‘जसरी पनि एमसीसी पारित हुने भयो । हामीले रोक्न सक्ने स्थिति भएन । कांग्रेस दृढ अडानमा छ । एमाले र कांग्रेस मिलेपछि भइहाल्छ । एमाले नेतृत्वबाट सँगै समझदारी गरेको, कार्यदल बनाएकोबाट आश गरेको त झन् कडा । कांग्रेस भन्दा त केपी ओली त झन् कडा । हाम्रा केही साथीहरू त जाऊँ भयो । झगडा गर्दागर्दै पनि यही विषयको गम्भीरता र महत्वलाई ध्यान दिएर देशको लागि जाने हो के लाज मान्ने हो र ? देशको भलो हुन्छ भने जोसँग भए पनि वार्ता गर्न के हुन्छ भनेर अप्ठ्यारो मानी मानी गएका थियौँ । तर यति नमिठो, यति तीतो र यति अपमानजनक भाषा उहाँले प्रयोग गर्नुभयो, कांग्रेस भन्दा त धेरै बढी रहेछ । आईपीएसको सदस्य बनाउने पनि उहाँहरू नै हो । एसपीपीसँग पनि सैद्धान्तिक सहमति गर्नेहरू पनि उहाँहरू नै हो । त्यसपछि अन्तिममा यसलाई बहिष्कार गर्ने, भोटिङमा भाग नलिने बाटो थियो । तर अनुमोदन त भइसक्थ्यो । त्यसलाई रोक्न र क्रान्ति नै सुरु गर्न सक्ने स्थिति थिएन ।’
उनले आफूहरूको बारम्बारको प्रयासपछि मात्रै व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गरिएको बताए।