‘सुमेरुले मृगौला ट्रान्स्प्लान्ट क्वान्टीटीमा भन्दा क्वालीटिको हिसावले गर्ने गरेको छ’

25.6k Shares

डा. नविन बहादुर बस्नेत, नेफ्रोलोजिस्ट, सुमेरु अस्पताल, धापाखेल

० विगतको दाँजोमा पछिल्लो समयको तथ्यांक अनुसार मृगौला रोगीहरु बढेको पाइएको छ, के कारणले होला ?

विगतमा मृगौला रोगीहरु कम देखिनुको कारण खानपिन र रहनसहन राम्रो हुनु, स्वास्थ्य सेवा पर्याप्त मात्रामा नहुनु, मृगौलासम्बन्धी रोग पत्ता लगाउने साधन स्रोतको अभावका कारणले पनि मृगौला रोगी कम देखिएको हो । तर, पछिल्लो समय स्वास्थ्य सेवा र  मृगौला रोग पत्ता लगाउने साधन स्रोत विस्तार र मानिसहरुमा मृगौला रोगसम्बन्धी जनचेतना भएको कारण विरामीले शरीरमा समस्या आउनासाथ चेकजाँच गर्ने भएको कारण मृगौलासम्बन्धी धेरै रोगी पत्ता लागेको कारण पनि पछिल्लो समय मृगौला रोगीहरु बढेको देखिएको हो । 

० मृगौला रोग कस्तो अवस्थामा लाग्ने गर्छ ? 

मृगौला विगार्ने भनेको एक नम्बरमा सुगर रोग नै हो । सुगर हुने भनेको अन्यन्त्रित खानपिन, शारीरिक व्यायाम नगर्ने, शरीरको तौल बढ्नुलगायतबाट हुने रोग हो । अर्को भनेको प्रेसर बढेर पनि मृगौलालाई क्षति पु¥याउन सक्छ । खानपिन गर्दा नुन बढी भएको खाने, कृतिम खानेकुराहरु खाने, डाक्टरको सल्लाह बेगर नै पेनकिलर र हर्बल औषधीहरु आफूखुसी खानाले पनि मृगौला रोग लाग्न सक्छ । नियमित खाने गरेको औषधी पनि डाक्टरसँग सल्लाह र चेकजाँच गरेर मात्र खाने गर्नुपर्छ । 

० मृगौला रोग वंशाणुगत हुन्छ कि हुँदैन ?

मृगौलासम्बन्धी विभिन्न रोगहरु हुन्छन् । बंशाणुगत पनि हुन्छ । अर्काे भनेको खानपिन र मोटोपनाका कारण सुगर भई सुगरका कारण मृगौला रोग लाग्न सक्छ । सुगर पनि वंशाणुगत हुनसक्छ । बाथ, मृगौलामा फोकाहरु आउने बंशाणुगत रोगहरुले पनि मृगौलामा रोग लगाउन सक्छ ।

० मृगौलामा समस्या आएको कसरी थाहा पाउने ?

धेरै जस्तो मृगौलाको समस्या आयो भन्ने मृगौला बिग्रीसकेपछि मात्र थाहा हुन्छ । कसैको गोडा सुन्निने हुन्छ, कसैको पिसावमा फिँज वा रगत आउने हुन्छ, कसैलाई मृगौला बिग्रिसकेर खान नरुच्ने, जिउहरु सुन्निने, सास फेर्न गाह्रो हुने, रगतको कमीका कारण शरीर आलस्य हुने आदि लक्षणबाट पनि थाहा पाउन सकिन्छ । नियमित रगत र पिसाव चेकजाँच गर्दा पनि मृगौलामा समस्या आएको थाहा पाउन सकिन्छ । 

० सुमेरु अस्पतालले मृगौला ट्रान्सप्लान्ट गर्दै आइरहेको छ, मृगौला ट्रान्स्प्लान्टमा अन्य अस्पतालका दाँजोमा महँगो छ भन्ने गरिन्छ नि ?

सुमेरु अस्पतालमा हामीले मृगौला ट्रान्स्प्लान्ट दुई वर्ष अगाडिबाट सुरु गरेका हौं । हामीले मृगौला ट्रान्स्प्लान्ट गर्न धेरै मेहनत गरी सुरु गरेको हो । सुमेरु अस्पताललाई मृगौला उपचार सम्बन्धी सबै सेवा सुविधा भएको अस्पताल बनाउने उद्देश्यका साथ हामीहरु अगाडि बढेका हौं । मृगाला रोगको लािग चाहिने साधन स्रोतदेखि लिएर सबै सर्भिसहरु सुमेरु अस्पतालमा छ । मृगौला प्रत्यारोपणको स्वीकृति भएका अन्य अस्पतालको दाँजोमा सबै साधन स्रोतदेखि लिएर म्यानपावर सर्भिस सबै ठिक छ भनेर नेपाल सरकार र ट्रान्स्प्लान्ट कमिटीले सुमेरु अस्पतालले ट्रान्स्प्लान्टको लागि स्वीकृत पाएको हो । त्यसपछि मृगौला ट्रान्स्प्लान्ट तुरुन्तै सुरु गरेका हौं । हामीहरुले मृगौला ट्रान्स्प्लान्ट गर्दा धेरै क्वान्टीनीमा भन्दा पनि क्वालीटिको हिसावले गर्ने गरेका छौं । खर्चको हिसावमा भन्नुपर्दा सरकारी अस्पतालकै तुलनामा छ । तर प्रत्यारोपण गर्नेले सरकारको चार लाखको अनुदान पाउँदैन ।  मृगौला ट्रान्स्प्लान्टका लागि प्रयोग हुने औषधी महँगो भएकै कारण पनि बढी खर्च लाग्ने गरेको हो । पछिल्लो मृगौला ट्रान्स्प्लान्ट गर्दा प्याकेजमै साँढे एघार लाखमा गरेका हौं । अबकोमा सायद प्याकेजमै अझ कममा मृगौला ट्रान्स्प्लान्ट हुनसक्छ । 

० अहिलेसम्म कतिवटा विरामीको मृगौला ट्रान्स्प्लान्ट गरिसकियो ?

अहिलेसम्म आठवटाको मृगौला ट्रान्स्प्लान्ट गरिसक्यौं । हामीले मृगौला ट्रान्स्प्लान्ट गर्न सुरु गरेको केही महिनापछि नै कोरोना प्यानडेमिकको कारण रोकेका थियौं । हामीले मृगौला ट्रान्सप्लान्ट गरेका आठवटै विरामीहरु हाम्रो निगरानीमा हुनुहुन्छ र उहाँहरुले राम्रो गरिरहनु भएको छ । उहाँहरुको जीवनशैली सामान्य मानिसको सरह भैसकेको छ । हामीले गरेको मृगौला ट्रान्सप्लान्ट सबै सफलतापूर्वक गरेका छौं ।

० मृगौला ट्रान्स्प्लान्ट गरेका विरामीहरुले सुमेरु अस्पतालले कस्ता सेवा सुविधाहरु दिँदै आएको छ ?

अस्पतालले मृगौला ट्रान्स्प्लान्ट गरेका विरामीहरुले राम्रै सेवा सुविधा दिँदै आएको छ । अस्पताल भर्ना हुने, ब्लड टेस्टलगायतमा निश्चित छुटको व्यवस्था गरिदिएको छ । त्यसबाहेक डाक्टरहरुले पनि ओपीडीमा सजिलै भेट हुने गरेर ट्रान्स्प्लान्ट ओपीडी भनेर संचालन गरेको छ । 

० कस्तो अवस्थामा मृगौला प्रत्यारोपण  गर्नुपर्ने हुन्छ ?

आफ्नो मृगौला पटक्कै काम नगर्ने र सुधारिने सम्भावना पनि नभएको भए प्रत्यारोपण गरिन्छ । त्यो अवस्थालाई इन्ड—स्टेज किड्नी डिजिज भन्छौं । जुनमा दुबै मृगौला मिलेर पनि १०—१५ प्रतिशत भन्दा कम काम गर्छ । त्यस्तो अवस्थामा परिवार भित्र दुबै मृगौला स्वस्थ भएको कसैले स्वइच्छाले मृगौला दिन्छ भने मृगौला प्रत्यारोपण गरिन्छ । कोही विरामी प्रत्यारोपण गर्न नसकेर डायलासिसमा हुनुहुन्छ भने पनि जुनसुकै बेला पनि प्रत्यारोपण गर्न सकिन्छ । दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिने मृगौला पूर्णरुपमा स्वस्थ हुनुपर्छ । अझै महत्वपूर्ण कुरा के हो भने मृगौला दाताको शरीरमा कुनै संक्रमण भएको छैन र कुनै सरुवा रोग लागेको छैन भने प्रमाणित गर्नुपर्छ । यदि किटाणु वा कुनै संक्रमण भेटियो भने त्यसको उपचार पछि मात्र प्रत्यारोपण गर्न सकिन्छ । यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि रोगीलाई सामान्य जीवनमा फर्काउन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि स्वस्थ्य रहन भने निकै सावधानी अपनाउनुपर्छ । 

० यो रोग नियन्त्रण र स्वस्थ राख्ने उपायहरु के होलान् ?

सक्रिय जीवन जिउने, समयमा सुत्ने एवं उठ्ने, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने, रक्तचाप ठीक राख्ने, पर्याप्त पानी पिउने, तौल सन्तुलित राख्ने, स्वस्थ खाना खाने, धूमपान, मद्यपान नगर्ने, जथाभावी औषधी सेवन नगर्ने, शारीरिक ब्यायामलगायतका गतिविधि गर्दा मृगौलालाई स्वस्थ राख्न सकिन्छ । आफ्नो मृगौलाको पोजिसन ठिक छ कि छैन भनेर कम्तिमा वर्षमा एक पटक रगतमा क्रियटिनिन, मृगौलाको अल्ट्रासाउण्ड, पिसाबमा प्रोटिन र रगत जाँच गराउने गर्नुपर्छ ।

० मृगौला रोगको उपचार बिधी महँगो भनिन्छ, के कारण महँगो भएको ?

मृगौला रोग मानिसको अत्यावश्यक अंग हो । मृगौलाले गर्ने काम गर्न छाडेपछि औषधी प्रयोग, मृगौला प्रत्यारोपण अथवा डायलासिसको विधि नै हो । यी प्रविधिहरु महँगो छ । नेपाल सरकारले सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण गरेको व्यक्तिको अवस्था हेरी विपन्न वर्गका मृगौला विरामीलाई ४ लाख रुपैयाँ बराबरको मृगौला फेर्न सहयोग दिन्छ । तर मृगौला प्रत्यारोपण गर्दा एउटै औषधी झण्डै डेढ देखि दुई लाख रुपैयाँसम्मको औषधी प्रयोग गर्नुपर्छ । अरुको मृगौला दान स्वरुप आफ्नो शरीरमा राख्दा फेरि त्यो मृगौलालाई रिजेक्ट गर्ने सम्भावना भएका कारण दैनिक महँगो औषधी सेवन गर्नुपर्ने हुन्छ । सोही कारण पनि मृगौला रोगको उपचार महँगो भएको हो ।

० मृगौलामा पत्थरी हुनुका कारण के होला ?

मृगौलामा पत्थरी कम पानी खाने व्यक्तिमा यस्तो खाले समस्या बढी देखिन्छ । दैनिक खानपिनमा पनि भर पर्छ । युरिक एसिड, अक्सोलेट भएका खानेकुराहरु बढी खाएमा किड्नीमा स्टोन बढ्ने सम्भावना बढी हुन्छ । बारम्बार मृगौलामा ढुंगा बनेको खण्डमा कुन प्रकारको ढुंगा हो स्टोन एनालाइसीस गरेर अथवा रगत र पिसाव जाँच गरेर पत्ता लगाइन्छ र फेरि ढुंगा नबनोस् भनेर रोकथामको लागि उपचार गरिन्छ । बारम्बार ढुंगा बनेको खण्डमा नि मृगौला बिग्रदै जाने हुन्छ । 

० मृगौला रोगीहरुले सहजरुपमा डायलासिस गर्न सकिरहेको अवस्था छैन भनिन्छ नि ?

पहिला भन्दा अहिले नेपालमा डायलासिसको क्षमता बढी छ । सरकारले पनि किड्नी विरामीहरुको डायलासिस निःशुल्करुपमा पनि गराइदिएको छ । डायलासिस भनेको पनि दुई किसिमबाट गरिन्छ । पहिलो मेसिनबाट गरिने डायलासिस जुन (हेमोडायलासिस भनिन्छ) र अर्को पेरिटोनियल डायलासिस । पेरिटोनियल डायलासिसको लागि हामीहरुले बिरामीको सानो अप्रेशन गरेर पेटमा पाइप हालिदिन्छौं । पेरिटोनियल डायलासिस गर्ने पानी उपलब्ध छ । हामीले विरामी आफैलाई कसरी गर्ने पद्धति सिकाइदिन्छौं, सोही अनुसार विरामीले घरमै बसेर सुलभ रुपमा गर्न सक्छन् । डायलासिस गर्ने पानीको सम्पूर्ण खर्च पनि नेपाल सरकारले उपलब्ध गराउँदै आएको छ । यो काठमाडौं बाहेक अन्य दुर्गम ठाउँमा पनि बिरामी आफैले गर्न सक्छन् । त्यसैले अहिले डायलासिसको क्षमता बढी छ । नपुग भन्न मिल्दैन । विरामीले चाहेको खण्डमा घरमै बसेर पनि गर्न सक्ने अवस्था भएको छ भने अस्पतालमा पनि पहिलोको जस्तो समय लिन गाह्रो छैन । अहिले काठमाडौं बाहेक अन्य जिल्लाका अस्पतालहरुमा पनि यो सुविधा उपलब्ध छ । 

० हेमोडायलासिस मेसिन कस्तो खाले मेसिन हो ?

हेमोडायलासिस भनेको त्यो मेसिन हो जसले विरामीको शरीरबाट रगत निकालेर त्यो रगतलाई शुद्धिकरण गरेर बिरामीकै शरीरमा फिर्ता गर्छ । यो पद्धति बिरामीले हप्ताको दुई देखि तिन चोटी अस्पताल गएर तिनदेखि चार घण्टा लगाएर गर्छन्, एक चोटी गरेको खर्च २५ सय रुपैयाँ लाग्छ । 

० पेरिटोनियल डायलासिस भनेको कस्तो डायलासिस हो ?

यो बिरामीले घरमै बसेर कम खर्चमा गर्न सकिने डायलासिस हो । यो डायलासिस गर्न हामीले विरामीको पेटमा सामान्य अप्रेशन गरेर पाइप राखिदिन्छौं । त्यो पाइपबाट डायलासिसको पानी राख्े र निकाल्न सिकाउछौं । यो सरल हुन्छ । विरामीले हामीले सिकाएजस्तै गरी घरमै बसेर यो विधि अप्नाउन सक्छन् । यसले विरामीलाई हप्ताको दुई तिन चोटी डायलासिस गर्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्ति मिल्नुका साथै अस्पतालमा फैलनसक्ने संक्रमणबाट पनि बच्न सकिने अवस्था भयो । यो विधि मृगौला रोगीहरुको लागि अति नै राम्रो विधि हो । यो पानी खरिदको लागि पनि सरकारले विरामीलाई निशुल्क रुपमा हरेक महिनाको लागि उपलब्ध गराउँदै आएको छ ।

० डायलासिस गरेको मृगौला रोगी कति वर्षसम्म बाँच्न सक्छन् ?

यसको एकिन हुँदैन । विरामीले होसियार अप्नाएको खण्डमा वर्षौंसम्म पनि सहजरुपमा बाँच्न सक्छन्, हेलचेक्र्याई, स्वास्थ्यमा अरु रोगको समस्या पनि देखिएको खण्डमा भने चाँडै नै मृत्यु हुन सक्छ । डायलासिस गरेर २० वर्षभन्दा माथि बाँच्ने विरामीहरु पनि छन् । 

० मृगौला रोग उमेर अनुसार लाग्छ कि, जुनसुकै उमेरकालाई पनि लाग्न सक्छ ।

यो रोग जुनसुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ । जन्मिनादेखि नै मृगौला रोग लिएर पनि जन्मिन सक्छन्, विशेष गरी उमेर हद बढ्दै गएपछि मृगौलाले काम गर्ने क्षमतामा पनि ह्रास आउने भएका कारण ६० वर्ष काटेका व्यक्तिहरुमा यो रोग बढी लाग्ने गरेको पाइएको छ । 

० पिसाव इन्फेक्सनका कारण पनि मृगौलालाई असर गर्छ ?

गर्छ । पिसाव इन्फेक्सन विशेष गरी महिला, वृद्ध, सुगर रोगीहरुलाई बढी देखिन्छ । सुगर भएको व्यक्तिलाई सुगर कन्ट्रोल नभएका कारण संक्रमण भई मृगौलालाई असर गर्छ । पानी कम खाने, लामो समय पिसाव रोक्नेलाई पनि पिसाबको संक्रमण बढी देखिन्छ । 

० मृगौला बचाउनको लागि सर्वसाधारणलाई अन्त्यमा के सल्लाह दिन चाहनु हुन्छ ? 

मृगौला भनेको यस्तो अंग हो जुन शरीरलाई स्वस्थ राख्ने अत्यावश्यक अंग हो । हाम्रो शरीरलाई व्यालेन्समा राख्ने अंग भनेकै मृगौला हो । त्यसैले मृगौलालाई स्वस्थ राख्नु अत्यावश्य छ । मृगौला स्वस्थ राख्न आफूले अप्नाउने दैनिक जीवनशैली, खानपिनमा कन्ट्रोल, बेलाबेलामा चेकजाँच गर्नुप¥यो र मृगौलालाई स्वस्थ राख्नुप¥यो । मृगौला बिग्रियो भने समयमै उपचार गर्नुप¥यो । मृगौला चरण—चरणरुपमा बिग्रँदै जान्छ । पहिलोचरण हुँदै पाँचौं चरणसम्म बिग्रदै जाने हुन्छ । सुरुमै मृगौलामा कुनै समस्या देखियो भने मृगौलासम्बन्धी विशेषज्ञ डाक्टरहरुसँग सल्लाह गरी उपचार गरेको खण्डमा मृगौला बिग्रँदै जाने क्रम रोक्न सकिन्छ । यदि मृगौला बिग्रिनै हाल्यो भने सकेसम्म प्रत्यारोपण गर्नुप¥यो । होइन भने पनि डायलासिसबाट पनि शरीरलाई राम्रै गर्छ । जसको मृगौला स्वस्थ छ, उसको परिवारको सदस्यको मृगौला खराब छ भने त्यस्तो अवस्थामा मृगौला दान गर्नु भनेको चाहिँ ठूलो धर्म हो । दान दिनेलाई पनि राम्रो हुन्छ र पाउनेलाई पनि राम्रो हुन्छ ।


सम्बन्धित समाचार