काठमाडौं । काठमाडौंको नयाँ बसपार्क स्थित प्रहरी प्रभागको प्रमुखको रूपमा अहिले प्रहरी निरीक्षक शरण बिक्रम शाह कार्यरत छन् । उनी यसअघि उपत्यका अपराध अनुसन्धान कार्यलयको प्रशासन शाखामा कार्यरत थिए ।
निरीक्षक शाहको पुर्खेली घर धादिङ हो । हालका गृह सचिव गोकर्णमणि दुवाडीको गृह जिल्ला पनि धादिङ नै हो । जिल्लावासी भएको कारण पनि सचिव दुवाडी र निरीक्षक शाहको राम्रो चिनजान र सम्पर्क हुने नै भयो र छ । यसबाहेक हालका मुख्यसचिव एक नारायण अर्यालसंग पनि निरीक्षक शाहको राम्रो सम्बन्ध रहेको छ । अर्याल गृह सचिव हुंदा पनि निरीक्षक शाह बारम्बार सोझै भेट्न जान्थे । असईबाट जागिर खाएर सई हुदै निरीक्षक भएको एउटा व्यक्तिले सोझै गृह सचिव र मुख्य सचिवलाई भेट्नु भनेको केही सम्बन्ध भएको कारण नै हो । अहिले यिनै गृह सचिव र मुख्य सचिवको दबाबमा निरीक्षक शाह उपत्यकामा नेपाल प्रहरीको निरीक्षक तहको लागि राम्रो भन्सारको रूपमा चिनिएको प्रहरी प्रभाग नयाँ बसपार्कको प्रमुख बनेका छन् ।
उनले यो पोष्टिङलाई कमाईको हिसाबले सफल बनाउनका लागि मगन्ते योजना अगाडि सारेका छन् । उनको पहिलो योजना रहेको छ , प्रहरी प्रभागको नयाँ भवन बनाउने । अहिले बसपार्क भित्र जस्ताको टहराहरूमा प्रहरी प्रभाग रहेको छ । यो ठाउँ प्रहरीको आफ्नो जग्गा पनि होइन । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क दीपक कुंवरको कम्पनीलाई संचालनको लागि भांडामा दिएको छ । आफ्नो जग्गा पनि नभएको र नयाँ अत्याधुनिक प्रहरी भवन बनाउन थोरै रकमले पुग्ने अवस्था पनि होइन । तर निरीक्षक शाहले प्रहरी भवन बनाउने नाममा व्यापक रूपमा आर्थिक संकलन पनि गर्ने र अर्कोतर्फ भवन बनाउने नाममा लामो समय बस्ने उद्देश्यका साथ यो योजना अगाडि सारेको बसपार्क क्षेत्रका व्यवसायीहरू बताउँछन् । उनले धेरै व्यापारीहरूलाई भेट्दै यो भवन बनाउने योजना रहेको भन्दै रकमको मोलमोलाई गरिरहेको उनीहरूको भनाइ छ ।
कुनै व्यवसायी केही कामको लागि प्रहरी प्रभाग पुगे पछि उनले भवन बनाउने प्रस्ताव पहिले राखि हाल्छन् भने त्यसपछि मात्रै सेवाग्राहीको सुनुवाइ हुन्छ । यसबाहेक उनको अर्को रकम उठाउने प्रस्ताव हो ट्रयाकसुट । प्रहरी प्रभाग बसपार्कमा कार्यरत प्रहरी सबैलाई एउटै ट्रयाकसुट लगाउनु पर्याे भन्दै उनले प्रायोजक खोज्दै हिडिरहेका छन् । जबकि सरकारले नै नेपाल प्रहरीको लागि सबै सदस्यलाई निलो रंगको ट्रयाकसुट दिदै आएको छ ।प्रहरीको ट्रयाकसुटको लागि राज्यले बार्षिक करोडौं रूपैयाँ लगानी गरिरहेको छ । तर रकम उठाउने बहानामा बसपार्कमा भने प्रहरीलाई ट्रयाकसुट किन्नुपर्ने भन्दै असुलीको तयारी हुदैछ ।
अझ एउटा रोचक सत्य उदाहरण के छ भने प्रायः शनिबार स्याङ्जा –वालिङ फुलवारी गेष्टहाउसमा एक कार्की थरका व्यक्तिले गाउँमा पालेको खसी ल्याएर काट्ने गर्दछन् । त्यसपछि त्याहा मदिरा सहितको खानपिनको व्यवस्था पनि हुन्छ । यहाँ बसपार्क क्षेत्रका धेरै व्यापारीहरू जम्मा भएर रमाइलो गर्ने गर्छन् । यो खसी काट्ने र खानपिनको व्यवस्थापनमा सहायक हवल्दार जगत खनाल निकै खटिएका हुन्छन् । दिउँसो दुई बजेतिर निरीक्षक शरण बिक्रम शाह पनि त्यो भोजभतेरमा पुग्ने गर्छन् । अनि यिनै सहायक हवल्दार खनालले जम्मा भएका व्यापारीहरूलाई निरीक्षक शाहसंग चिनजान गराउंछन् । यी सहायक हवल्दार जगत खनाल कहाँ कार्यरत रहेछन् भनेर अनुसन्धान गर्ने क्रममा थाहा भयो कि , उनी हाल प्रहरी वृत्त महाराजगन्जमा कार्यरत रहेछन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट उनी महाराजगन्ज वृत्तमा खटिएका रहेछन् । जबकि बसपार्क प्रहरी प्रभागमा उक्त कार्यालयबाट छुट्टै टोली नै खटिन्छ । यस हिसाबले भन्दा उनी बसपार्क जानुपर्ने अबस्था छैन । तर उनी सधै बसपार्क र वरपर नै हुन्छन् । यसको पछाडि पनि अर्को घटना रहेछ । त्यो के भने जगत खनाल यसअघि धेरै लामो समय बसपार्कमा बसेका रहेछन् । लामो समय उक्त उपत्यका अपराध अनुसन्धान कार्यालयबाट बसपार्कमा खटिएको बेला खनाललाई यहाँका व्यवसायी देखि सर्वसाधारणले रातिको बेलामा सई र दिउँसो सिपाही भनेर चिन्ने गर्दा रहेछन् । अर्थात खनालले आंफुलाई राति सई भन्दै हिड्ने रहेछन् । तर वास्तवमा खनाल सिपाही नै थिए । लामो समयदेखि बसेको र असुलीमा धेरै बदनाम भएपछि उनलाई महाशाखाले बसपार्कबाट हटाएर फर्पिङ प्रभागमा खटाएको थियो । तर महाशाखामा समेत सेटिङ मिलाएर , प्रशासन मिलाएर सहायक हवल्दार खनाल फर्पिङबाट फेरि महाराजगन्ज वृत्तमा आइपुगे । उनको कार्यक्षेत्र महाराजगन्ज भए पनि जतिसुकै बेला पनि उनी बसपार्क नै हुन्छन् । निरीक्षक शाह केरकारमा प्रशासनमा हुदा नै खनाललाई फर्पिङबाट महाराजगन्ज वृत्त ल्याएको हुनाले पनि अहिले खनाल निरीक्षक शाहको एउटा घुमुवाको रूपमा परिचालित भएको यहाँका व्यवसायीहरू बताउँछन् ।
बसपार्कमा यसअघि सिपाही मिलन थापा घुमुवा थिए । झण्डै ७ देखि बसपार्कमा घुमुवा रहेर धेरै बदनाम भएका मिलन थापालाई उपत्यका प्रहरी कार्यालयले सरूवा गरेर काठमाडौ परिसर लग्यो । तर परिसर गएपछि पनि मिलन थापा फेरि सिभिलमा नै परिचालित छन् । अहिले बसपार्कमा निरीक्षक शाहले सहायक हवल्दार इर्साद आलमलाई अर्को घुमुवाको रूपमा परिचालन गरेका छन् ।
यी घुमुवा इर्साद यसअघि पनि बसपार्कमा घुमुवाको रूपमा लामो समय कार्यरत रहेका थिए । जो प्रहरी निरीक्षक भएर आएपनि यिनै इर्साद घुमुवाको रूपमा परिचालित थिए । असुलीमा धेरै बदनाम भए पछि उनलाई बसपार्कको घुमुवाबाट हटाएर उपत्यका प्रहरी कार्यालयमा तानिएको थियो । तर फेरि उनी बसपार्क नै फर्केका छन् । फर्केका मात्रै छैनन् कि फेरि घुमुवाको रूपमा निरीक्षक शरण विक्रम शाहले परिचालन गरेका छन् । आखिर यी घुमुवाहरू बारम्बार किन बसपार्कमा फर्केन्छिन र घुमुवा नै बस्छन् । तालुकदार कार्यालयहरूले यस्ता बदनाम घुमुवाहरूलाई फेरि पुरानै ठाउँमा किन पठाई रहन्छ । यसको एउटै कारण हो , असुली र असुलीको रकम ठाउँ ठाउँमा पुग्नु ।
अहिले बसपार्कमा रहेका डिस्को र डान्सवारहरूका मालिकहरूसंग मोलमोलाई चलिरहेको छ । दोहोरी रेष्टुरेन्टका मालिकहरूसंग कुरा मिलिसकेको छ । जसको कारण सयौं गुना बढी रकम लिए पनि अब ठगीमा उनीहरूलाई कारबाही हुदैन । त्यतिमात्र होइन दैनिक १५÷२० जना थुनुवा हुन्छन् ती मध्ये रकम बुझाउने बिहानै छुट्छन् । नबुझाउनेलाई दिनभर थुन्ने काम पनि बसपार्क प्रहरीमा हुदै आएको छ । यस्तो लाग्छ कि बसपार्कमा प्रहरीलाई जतिसुकै रकम र जे प्रकरणमा पनि रकम उठाउन छुट रहेको छ । उनीहरूलाई नियन्त्रण गर्ने कुनै माथिल्लो निकाय नै छैन । यो काठमाडौ प्रहरीको नेतृत्व कमजोर भएको परिणाम हो , बसपार्कमा दशकौं देखि होटल चलाउने श्याम महतले बताए