बसाइँसराइ र जलवायुजन्य जोखिमका कारण चुरे विनाश हुँदै

9.3k Shares

काठमाण्डौ – राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले आफ्नो स्थापनाको अवसर पारेर आज ११औं चुरे संरक्षण दिवस मनाउँदै छ । दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको नवरपरासीको कावासोतीमा वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको समितिले जनाएको छ ।

चुरेको प्राकृतिक स्रोत संरक्षण, दिगो व्यवस्थापन, पारिस्थितिकीय सेवाको संवर्द्धनले गरिबी कम गर्ने लक्ष्यका साथ समितिको स्थापना वि.सं. २०७१ असार २ गते भएको हो ।

स्थापना भएयता समितिले अहिलेसम्म १ हजार ४ सय ५९ ठाउँमा गल्छी, पहिरो, खहरे नियन्त्रण, १ सय ६६ हेक्टर भिरालो कृषि भूमिमा बहुवर्षीय बाली विस्तार गरेको जनाएको छ ।

त्यस्तै ५ हजार २ सय ३० हेक्टरमा हरियाली प्रवर्द्धन कार्यक्रम गरेको तथा २ करोड ९३ लाख ४९ हजार बिरुवा उत्पादन र वितरण गरेको समितिले उपलब्धि विवरणमा उल्लेख गरेको छ ।

यसैगरी नदी/खोला किनारामा ४ सय १२ किलोमिटर तटबन्ध निर्माण, १ सय ६२ हेक्टर हरित पेटिका निर्माण, १ सय ३९ सिमसार तालतलैया संरक्षण/पुनर्निर्माण, ६ सय २८ वर्षातको पानी सङ्कलन पोखरी निर्माण र ५ सय ४८ वटा पानी मुहान संरक्षण भएको छ ।

त्यस्तै समितिको स्थापना भएयताको अवधिमा चुरे संरक्षणका नाममा झन्डै १५ अर्ब रुपैयाँ खर्च भइसकेको कार्यक्रम कार्यान्वयन इकाइ चितवन प्रमुख प्रकाश नेपालले जानकारी दिनुभयो ।

ललितपुरमा केन्द्रीय कार्यालय रहेको समितिले देशभर सलकपुर, जनकपुर, चितवन, बुटवल र लम्कीमा कार्यक्रम कार्यान्वयन इकाइ स्थापना गरी काम गर्दै आएको छ ।

चुरे क्षेत्र ७ प्रदेशका ३७ जिल्ला र ३ सय २५ पालिकामा फैलिएको छ । कमलो भूबनोट, जनसङ्ख्या बसाइँ–सराइ, जलवायुजन्य जोखिम, आगलागीलगायतका कारणले पछिल्लो समय चुरे विनाश हुने क्रम बढ्दै गएको छ ।

सम्बन्धित समाचार