विश्व । भारतीय सेनाले पाकिस्तानको नौ वटा क्षेत्रमा गरेको हवाई आक्रमणबारे विभिन्न देशलाई जानकारी गराएको छ । आक्रमणबारे अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलाई जानकारी दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा भारतको आक्रमण ‘लज्जास्पद’ भएको टिप्पणी गर्नुभएको छ । उहाँले घटनाको निन्दा गर्दै पछिल्लो समयमा सिर्जित तनावको अवस्था चाँडै समाप्त हुने विश्वास व्यक्त गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले घटनालाई नियालिरहेको बताउनुभएको छ । शान्तिपूर्ण समाधानको लागि भारतीय र पाकिस्तानी नेतृत्व दुवैसँग वार्ता गर्ने उहाँको भनाइ छ ।
यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारि भारतीय सैन्य कारबाहीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले दुवै देशलाई अधिकतम सैन्य संयमता अपनाउन पटक–पटक अपिल गरिरहनुभएको छ । भारत र पाकिस्तानबीचको सैन्य टकराव विश्वले सहन नसक्ने उहाँको भनाइ छ ।
गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । लगत्तै भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो ।