प्रसौनीभट्टाबाट कपडाको तस्करी

8.7k Shares

बिरगंज । पर्साको प्रसौनीभट्टा नाकाबाट कपडाको ठूलो तस्करी धन्दा चलेको छ । यो नाकाबाट बाराका तस्कर समूहले दुबै प्रहरीका स्थानीय प्रमुखलाई मिलाएर तस्करी धन्दा गरिरहेका छन् । 

प्रसौनीभट्टाबाट तस्करी गरेर निस्केको सामान बहुर्वा बेश , अमरपट्टी बिओपी , डकैला बहुवारी बेश , सोलकपुर बेश क्याम्प हुदै जीतपुर सम्म पुग्ने गरेको छ । यी ठाउँहरूमा सशस्त्र प्रहरी बलका बिओपी देखि लिएर बेश मात्रै होइन प्रस्तावित गुल्म समेत रहेको छ । अहिले दैनिक राति १२ बजेदेखि बिहान ५ बजेसम्म १० देखि १२ वटा मोटर साइकलमा कपडाको तस्करी हुदै आएको छ । भारतीय तस्करहरूले नेपालको सीमावर्ती क्षेत्र प्रसौनीभट्टा सम्म ल्याइदिने र त्यसपछि नेपाल तर्फका तस्करहरूले यताको मोटरसाइकलमा लोड गरेर ल्याउने गरेका छन् । नेपाल ल्याएपछि एउटै साधनबाट उक्त तस्करीको कपडा जीतपुर सम्म नल्याएर बीच बीचमा अरू मोटरसाइकल मार्फत पुर्याउने गरिएको छ। प्रसौनीभट्टाबाट जीतपुर सम्म तस्करीको कपडा ल्याउने बीचमा दुई समूह रहेको छ। 

प्रसौनीभट्टा देखि जीतपुर सम्म आउंदा नेपाल प्रहरी र सशस्त्र प्रहरीका धेरै युनिटहरू बाटोमा पर्दछन् । तर सबैको सेटिङ र संरक्षण भएको कारण उनीहरूलाई कसैले रोकतोक र सोधपुछ गर्दैन । यो कपडाको ठूलो तस्करीको लाइन राजकुमार यादवको नामबाट लिएको समेत खुलेको छ। उनी बाराका चर्चित कपडा कारोवारी चन्दन श्रीवास्तव भनेर चिनिने सरोज यादवको व्यापारिक साझेदार भएको समेत खुल्न आएको छ । चन्दन भन्ने पहिले बाराको नाकाबाट कपडाको ठूलो तस्करी गर्ने कारोवारी हुन । अहिले बाराबाट तस्करीको लाइन नपाएपछि उनले पर्साको अलौ , प्रसनिभट्टा लगायतका नाकाबाट तस्करीको काम गरिरहेका छन् । राज्यले चोरी तस्करी नियन्त्रणको प्रमुख जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको भए पनि तपाईं कार्यरत भएको मातहतका नाकाबाट ठूलो तस्करी भैरहेको छ नि भन्ने प्रश्नको जवाफमा अलौका डिएसपी कृष्ण पुजाराले आफू तस्करी नियन्त्रणमा लागिपरेको र म आएपछि ५० लाख बराबरको सामान वरामद गरेको बताए । उनले नियन्त्रणको प्रयास गरेको बताए पनि यो क्षेत्रका नाकाबाट व्यापक तस्करी भैरहेको छ। बाराका तस्कर पर्सा पुगेर कारोवार गर्नुले मात्रै होइन दैनिक यति ठूलो तस्करी हुदाहुदै पनि सामान पक्राउ नपर्नुले सेटिङमा तस्करी भैरहेको पुष्टि हुन्छ ।

सम्बन्धित समाचार