भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनमा भारतभर शोक 

15.5k Shares

नयाँ दिल्ली ः भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनमा मंगलबारदेखि भारतभर शोकको घोषणा गरिएको छ ।  भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने घोषणा गरेको थियो । भारतमा मंगलबार भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ । 
 
झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो । 
सोमबारदेखि सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ । यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु गरिने छैन । 
  
भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो । मंगलबार भारतीय टेलिभिजनहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन् । 

उनी केही दिनदेखि अचेत अवस्थामा थिए । कोमामा रहेका उनको सोमबार निधन भएको थियो । मुखर्जीको राष्ट्रिय सम्मानका साथ मंगलबार नै अन्त्येष्टि गरिने कार्यक्रम छ । 

उनी भारतको १३ औँ राष्ट्रपति हुन् । उनको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत भएका थिए । 
मुखर्जीप्रति विश्वका नेताहरुद्धारा श्रद्धाञ्जलि
भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति विश्वका नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन्् । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको निधनले आफूलाई निकै दुःख लागेको बताएकी छन् ।  

प्रधानमन्त्री हसिनाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सोमबार लेखेको पत्रमा मुखर्जीको निधनले आफूलाई निकै दुःख लागेको भन्दै आफ्नो र बंगलादेशका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेकी छन् ।   

त्यसैगरी भुटानका प्रधानमन्त्री लोतये छिरिङले पनि मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको पत्रमा भुटानी जनता तर्फबाट भारतीय नतालाई समवेदना दिएका छन् ।  

त्यसैगरी श्रीलंकाली प्रधानमन्त्री महिन्दा राजपाक्छेले पनि मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनले पूर्व राष्ट्रपति मुखर्जीको निधनको खबर सुन्दा अफूलाई निकै दुःख लागेको भनेका छन् । 
उनले ट्वीट गर्दै आफ्नो तर्फबाट र श्रीलंकाली नागरिकको तर्फबाट भारतीय पूर्व राष्ट्रपति मुखर्जीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको परिवार र सबै भारतीय नागरिकप्रति समवेदना व्यक्त गरेका छन् । 
त्यसैगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । भारतमा रहेको रुसी दूतावासले दिएको जानकारीअनुसार भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै रुसी राष्ट्रपति पुटिनले सोमबार भारतका राष्ट्रपति रामनाथ कोविन्द र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएका छन् । 

उनले पत्रमा रुसका एक सच्चा मित्र गुमाउन पुगेको भन्दै मुखर्जीको कार्यकालमा रुस र भारतबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताएका छन् । 

सम्बन्धित समाचार