सुनसरी– बिहीबार (भोलि) देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सुनसरीमा तयारी पुरा भएको छ । जिल्ला शिक्षा विकास समन्वय समितिकाअनुसार सुनसरीबाट यसपटक १३ हजार ६ सय ६३ जना एसईई परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा छात्रको सङ्ख्या ७ हजार १४ जना र छात्राको संख्या ६ हजार ४९ रहेको छ ।
चैत १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षाका लागि सुनसरीमा सामुदायिक र संस्थागत गरी कुल ३ सय २१ विद्यालयका परीक्षार्थीहरू सहभागी हुँदैछन् । ती मध्ये ७ धार्मिक विद्यालय, २ विशेष विद्यालय गरी कुल १ सय १७ सामुदायिक विद्यालय छन् । संस्थागततर्फ कुल २ सय ४ विद्यालय रहेका छन् । धरानका १० वटा परीक्षा केन्द्रमा ३ हजार ६० जना एसईई परीक्षार्थीहरू रहेका छन् ।
जिल्ला शिक्षा विकास समन्वय समिति प्रमुख खगेन्द्र सुवेदीकाअनुसार एसईईमा साधारणतर्फ १३ हजार २ सय ३३ जना र प्राविधिक धारतर्फ ४ सय ३० जना परीक्षार्थीहरू सहभागी हुनेछन् । तीमध्ये नियमिततर्फ १२ हजार ९ सय ७५ जना, पुरानो ग्रेड वृद्धितर्फ १ सय १५ जना र नयाँ ग्रेड वृद्धि तर्फ ६ सय ८८ जना परीक्षार्थी रहेका छन् ।
विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान राखिएपनि २०८० देखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था गरेको छ ।
सुनसरीका १२ वटा स्थानीय तहमा ५० परीक्षा केन्द्र तोकिएको छ । धरानमा १०, इटहरीमा ११, ईनरुवामा ६, कोशी गाउपालिकामा २, दुहवी नगरपालिकामा ३, देवानगन्ज गाउपाकिामा १, वराहक्षेत्र नगरपालिकामा ७, बर्जु गाउपालिकामा ३, भोक्राह नरसिंह गाउपालिकामा १, रामधुनी नगरपालिकामा ३ र हरिनगरा गाउपालिकामा २ वटा परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा केन्द्रहरूमा जनशक्तिका रुपमा ५० केन्द्राध्यक्ष, ८९ सहायक केन्द्राध्यक्ष, ६ सय ८० निरीक्षक, १ सय ३५ परीक्षा सहायक, २ सय ७१ कार्यालय सहयोगी खटिने समितिले जनाएको छ ।