दुई सय ३६ ह्याचरी उद्योग बन्द

8.7k Shares

चितवन– कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ ।

उनले एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको जानकारी दिए । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।

पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० सम्म पर्न जान्छ । लेयर्सको मूल्य एक सय २० देखि एक सय २५ पर्छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् । लामो समयपछि अहिले ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा ७० देखि ७५ मा बिक्री हुने गरेको छ । लेयर्स चल्ला एक सय ३० देखि एक सय ५० मा बिक्री हुँदै आएको छ । 

उनले भने, ‘लामो समय चल्लाले मूल्य नपाउँदा अधिकांश ह्याचरी बन्द भए ।’ चलेकाहरू पनि बैंकको ऋण थपेर धानिएको उनको भनाइ छ । चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको व्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् ।

सम्बन्धित समाचार