लुम्बिनी । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग सम्वाद गर्नुभएको छ । रुपन्देहको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर ९भैरहवा०मा छ ।
घना बस्तीको बिचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गर्नुभएको थियो । उहाँले कारागारको जग्गा नगरपालिकालाइ दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराउनुभयो ।
जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिनुभयो । प्रमुख खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भवन निर्माणको लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिनुभयो ।
भेटपछि प्रमुख खाँले सहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले ओमसतिया गाँउपालिका पटखौलिमा ल्याण्डफिल्ड साईटका लागी नगरपालिकाले खरिद गरेको ६ बिगाह जग्गा कारागारलाई दिन सकिने जानकारी दिनुभयो । यसका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा प्रक्रिया अगाडी बढेको र त्यसलाई मुर्त रुप दिन बर्तमान गृहमन्त्रीसँग आग्रह गरेको उहाँले बताउनुभयो ।