आउँदो जेठमा हुने सगरमाथा संवादको तयारी शुरू

8.7k Shares

काठमाण्डौ – जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय देशले झेल्नुपरेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा हुने  ‘सगरमाथा संवाद’को तयारी शुरू भएको छ ।

संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको हिजोको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयोजकत्वको समितिले संवादका लागि पूर्वाधारको व्यवस्था तथा कार्यक्रमको प्रारुप तयार पारेको संवादका सम्पर्क व्यक्ति वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले बताउनुभयो ।

समितिले विभिन्न क्षेत्रका १६ जना विज्ञ सम्मिलित विज्ञसमूह गठन गर्ने, परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रचार प्रसार तथा समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले जलवायु परिवर्तनका प्रभाव घटाउन भएका असल अभ्यासको प्रदर्शनका लागि साझेदार संस्थालाई आग्रह गर्ने निर्णय गरेको छ । यसअघि गएको माघ २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा तयारी बैठक सम्पन्न भएको थियो ।

बैठकले संवाद कार्यक्रममा लागि छिमेकी देश भारत, चीन तथा दक्षिण एशियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गर्नेलगायत विषयमा छलफल गरेको थियो ।सरकारले जलवायु परिवर्तनका विषयमा विश्वमै नेतृत्व हासिल गर्न तथा जलवायु न्यायका लागि पैरवी गर्न संवाद कार्यक्रम गर्न लागेको वन तथा वातावरण मन्त्रालयका सचिव दीपककुमार खरालले बताउनुभयो ।

यो संवाद हरेक दुई वर्षमा आयोजना गर्ने सरकारको निर्णय छ । न्यून कार्बन उत्सर्जन गरेर पनि उच्च जोखिममा पर्नुपरेको अवस्थाका बारेमा अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै त्यसबाट नेपालले लिनुपर्ने क्षतिपूर्ति र नेपालले उपलब्ध गराएका वातावरणीय सेवा वापतको भुक्तानीको सन्दर्भमासमेत संवादमा पैरवी गरिने उहाँले बताउनुभयो ।

पेरिस सम्झौताअनुसार विश्व समुदायले यस शताव्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेता पनि सन् २०५० भन्दा पहिले नै हिमाली क्षेत्रको तापक्रम सरदर १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान गरिएको छ ।

विभिन्न अध्ययनअनुसार उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिम भण्डारहरू पग्लिने अनुमान छ ।

सम्बन्धित समाचार